सल्यान, २३ पुस । सल्यानमा पहिलोपटक सरकारी कार्यालयमा स्तनपान तथा शिशु स्याहार कक्ष स्थापना गरिएको छ । जिल्ला हुलाक कार्यालय सल्यानमा कार्यालयमा आउने सेवाग्राही तथा कर्मचारीको सुविधाका लागि स्तनपान तथा शिशु स्याहार कक्ष स्थापना गरिएको हो ।
जिल्लाका कुनै पनि सरकारी कार्यालयमा स्तपान तथा शिशु स्याहारका लागि व्यवस्था नभएकाले महिला सेवाग्राहीको सुविधालाई ध्यानमा राखी कक्ष सञ्चालनमा ल्याइएको जिल्ला हुलाक कार्यालय सल्यानका कार्यालय प्रमुख धीरेन्द्रबहादुर बुढाथोकीले बताए। कक्षमा एकैपटक तीन जना महिलाले स्तनपान गराउन सक्नेछन् ।
यसैबीच जिल्ला हुलाक कार्यालय सल्यान र कुमारी बैंक शाखा सल्यानको सहकार्यमा ६७ बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । स्तनपान तथा शिुश स्याहार केन्द्र उद्घाटनमा उपस्थित भएका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो । रासस