Indrenionline.com

मृतक शिक्षक र बिद्यार्थीको सम्झनामा फलफुल वितरण

इन्द्रेणी संवाददाता

दाङ , १८ पुस । शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयले आफ्ना मृतक शिक्षक र बिद्यार्थीहरुको  सम्झनामा श्री प्राथमिक बिद्यालय कर्जाहीका बिद्यार्थीहरुलाई फलफुल वितरण गरेको छ ।

गत पौष ६ गते दाङको राम्रीमा गाडी दुर्घटनामा परि ज्यान गुमाएका १९ जना बिद्यार्थी र २ जना शिक्षकहरुको सम्झनामा शिक्षालयकाले आज १३ औं दिनको पुण्यतिथीमा फलफुल वितरण गरेको शिक्षालयका संयोजक केशरमान बुढाथोकीले बताए  । फलफुल वितरणमा शिक्षालयमा अध्यापनरत शिक्षक र गाडी दुर्घटनामा नपरेका बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

दुर्घटना भएदेखि १३ दिन सम्म शिक्षालयले पठनपाठन बन्द गरेकोमा आज १३ औं दिनको पुण्य तिथिमा घोराहीको तुलसीपुर चोक र शिक्षालय परिसरमा दिप प्रज्वलन गरेर मृतक आत्माको चिरशान्तिको कामना गरिने शिक्षालयका प्रमुख यादव सुवेधीले जानकारी दिए ।

साथै प्रमुख सुवेधीले दिपप्रज्वलन कार्यक्रममा उपस्थित हुन शिक्षक , बिद्यार्थी , पत्रकार , अभिभाबक तथा सम्पूर्ण शुभचिन्तकहरुलाई हार्दिक अनुरोध गरेका छन् ।