Indrenionline.com

चर्काे शुल्क बृद्धिको निर्णय फिर्ता लिन प्रतिष्ठानलाई नागरिक समाज दाङको आग्रह

इन्द्रेणी संवाददाता
दाङ, १८ पुस । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बढाएको चर्काे सेवा शुल्कप्रति नागरिक समाज दाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । तत्कालिन राप्ती उपक्षेत्रीय अस्पतालले लिदै आएको सेवा शुल्कमा दोब्बरदेखि चार गुणासम्म सेवा शुल्क बृद्धि गरेको भन्दै समाजले ध्यानाकर्षण भएको जनाएको हो ।

समाजका अध्यक्ष चन्द्रराज पन्तको अध्यक्षतामा बुधवार घोराहीमा सम्पन्न बैठकले प्रतिष्ठानले गरेको शुल्क बृद्धिको निर्णय तत्काल फिर्ता लिई आग्रह गरेको छ । साथै नेपाल सरकारले निःशुल्क उपलब्ध गराएका सेवा तथा सुविधाहरु निःशुल्क प्रवाह गर्न र अन्य सेवा सुविधाहरुमा नेपाल सरकारले निर्धारण गरेको मापदण्डको परिधीभित्र रही गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङसँग अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।

त्यस्तै बैठकले प्रतिष्ठानले प्रवाह गरेका सेवाका सम्बन्धमा नागरिक समाजले नियमित रुपमा अनुगमन गर्ने पनि निर्णय गरेको सचिव लक्ष्मी आचार्यले जानकारी दिएकी छन् ।