काठमाडौं, १७ पुस। नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ले संगठनात्मक एकीकरण कार्यदललाई केन्द्रीय सदस्यहरूको कार्यविभाजनसँगै पोलिटब्युरो गठनको गृहकार्य गर्न पनि निर्देशन दिएका छन् ।
‘उहाँले स्थायी समितिको म्यान्डेटअनुसार पोलिटब्युरो र केन्द्रीय विभागहरूको गठन, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, जिल्लाका पदाधिकारीहरू चयनको गृहकार्य गरेर प्रस्ताव तयार पार्ने अधिकार कार्यदललाई रहेको व्याख्या गर्नुभयो,’ अध्यक्ष प्रचण्डलाई उद्धृत गर्दै कार्यदल सदस्य लेखराज भट्टले भने, ‘उहाँहरूले पुस मसान्तभित्र एकीकरणको खाका तयार भइसक्ने गरी छिटो काम गर्न निर्देशन दिनुभएको छ ।’
एकीकरणको ढिलाइले संगठनात्मक काममा शून्यता देखिएको भन्दै अध्यक्ष ओलीले छिटो काम सक्न सदस्यहरूलाई निर्देशन दिएका छन् । उनको यस्तो निर्देशनपछि प्रचण्डले स्थायी समितिले दिएको म्यान्डेटबारे व्याख्या गरेको भट्टले बताए ।
१२ पुसको स्थायी समिति बैठकले कार्यदल गठन गरेको थियो । ९ सदस्यीय कार्यदलमा रामबहादुर थापा‘बादल’, विष्णुप्रसाद पौडेल, योगेश भट्टराई, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, लेखराज भट्ट, वर्षमान पुन र रघुवीर महासेठ सदस्य छन् ।
२९ मंसिरबाट १२ पुससम्म चलेको स्थायी समिति बैठकमा पोलिटब्युरो गठनविनै केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्नु उपयुक्त नहुने भन्दै वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताहरूले विरोध गरेका थिए ।
पहिले पोलिटब्युरो गठन गरेर उनीहरूलाई वरिष्ठताका आधारमा जिल्ला इन्चार्जको जिम्मेवारी दिनुपर्ने सुझाब स्थायी समितिमा धेरैले दिएको एक नेताले बताए नयाँ पत्रिकामा खबर छ। निर्वाचन क्षेत्र हेर्ने गरी आवश्यकताअनुसार दुईभन्दा बढी केन्द्रीय सदस्यलाई सहइन्चार्जको जिम्मेवारी दिँदा उपयुक्त हुने सुझाब पनि उनीहरूको थियो ।