काठमाडौं, १३ पुस । नेकपा स्थायी समिति बैठकमा अध्यक्ष केपी ओलीले जवाफ दिँदा नेताहरूले प्रतिवाद गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका ओलीको प्रतिवादमा एकपछि अर्को स्थायी समिति सदस्य उत्रिएपछि बिहीबार बैठक समापन हुन सकेन । अचानक स्थगित गरी बैठक शुक्रबार बिहान ८ बजे बोलाइएको छ ।
‘अध्यक्ष ओलीजीले आफ्नो धारणा राखेपछि वामदेव गौतम, घनश्याम भुसाल र भीम रावलले प्रतिवाद गरेपछि धेरैजनाले बोल्नका लागि हात उठाउनुभएको थियो,’ स्थायी समिति सदस्य गणेश शाहले भने, ‘प्रचण्डजीले लौ भैगो, आज रात पनि पर्यो, भोलि बिहान फेरि छलफल गरौँला भनेपछि रोकियो ।’
स्थायी समिति सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिन उभिएका अध्यक्ष ओलीले दुई घन्टा भाषण गरे । सदस्यहरूले इंगित गरेका एउटै कमजोरी पनि ओलीले स्विकारेनन् । बरु उनले आफ्नो र सरकारको जनताले वाहवाही गरिरहेको, पार्टीभित्र भने विरोध भएकोमा असन्तुष्टि जनाए ।
‘अहिले पार्टीमा आलोचना भएको छ, तर जनतामा वाहवाही नै छ । ०५१ मा गृहमन्त्री हुँदा पनि मेरो कामको जनताले प्रशंसा गरेका थिए, पहिलोपटक प्रधानमन्त्री हुँदा पनि वाहवाही पाएकै थिएँ,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै नेता मणि थापाले भने । नयाँ पत्रिकाबाट