Indrenionline.com

कांग्रेस विधान मस्यौदामा सहमतिको प्रयासमै

काठमाडौँ, २ पुस । नेपाली काङ्ग्रेसले पार्टीको विधान मस्यौदालाई पारित गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।केन्द्रीय कार्यसमिति बैठक बस्ने भएपछि आज बिहान शुरु भएको काङ्गे्रस महासमिति बैठक केही समयका लागि स्थगन गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न तयार गरेको विधान मस्यौदा प्रतिवेदनमा शीर्ष नेताबीच सहमतिको प्रयास जारी छ । केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि काङ्ग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पार्टी पदाधिकारी बैठक जारी रहेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए । पदाधिकारी बैठकमा सहमतिपश्चात् विधान मस्यौदाको प्रतिवेदन केन्द्रीय समितिबाट पारित गराई आजै महामन्त्री एवं विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले महासमिति बैठकमा पेश गर्ने छन् ।

विधान मस्यौदामा पदाधिकारी सङ्ख्या र पदाधिकारीको चयन प्रक्रियाबारे काङ्ग्रेसमा बहस जारी छ । संस्थापन पक्ष पदाधिकारी सङ्ख्या बढाउन नहुने र बढाए पनि सभापति, एक महामन्त्री र एक कोषाध्यक्षबाहेक अन्य पदाधिकारी सभापतिबाट मनोनयन हुनुपर्ने पक्षमा छ । संस्थापनइतर पक्ष भने केन्द्रीय कार्यसमितिको सङ्ख्या बढाएसँगै पदाधिकारी सङ्ख्या पनि बढाउनुपर्ने र सबै निर्वाचित हुनुपर्ने अडानमा छ । विधान मस्यौदामा १४१ सदस्यीय केन्द्रीय समिति बनाउने लगभग सहमति भइसकेको छ ।

महासमिति बैठकमा अन्य विभिन्न चार विषयका प्रस्तावमाथि महासमिति सदस्यले आ–आफ्ना धारणा राख्नेक्रम जारी छ । शुक्रबारदेखि यहाँ शुरु भएको महासमिति बैठकको बन्दसत्रमा राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रस्तावमाथि छलफल जारी छ । शनिबार उद्घाटनपछि बन्दसत्र शुरु भएको हो । रासस