काठमाडौं, १ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा आफ्नै हिरासत कक्ष छ। यसको क्षमता १८ जनाको हो। तर घुस लिने कर्मचारीका कारण त्यो ‘हाउसफुल’ छ। यहाँ ३३ जना हिसारतमा छन्। विगतको तुलनामा यो संख्या बढी हो। पछिल्लो समय ‘स्ट्रिङ अपरेसन’लाई तीव्रता दिएका कारण हिरासत भरिएको अख्तियारको भनाइ छ।
पछिल्लो समय मासिक ७ देखि १० वटासम्म घुसका मुद्दा विशेष अदालतमा दर्ता हुने गरेको अख्तियारको तथ्यांक छ। छिटो गर्न मुद्दा दर्ता भएकै दिन बयान र थुनछेकको काम सुरु गरिएको विशेष अदालतका रजिस्ट्रार भीमकुमार श्रेष्ठले बताए। अख्तियार प्रमुखमा नवीनकुमार घिमिरे आएपछि विशेषगरी घुसको ‘स्टिङ अपरेसन’ले तीव्रता पाएको छ। घुस र भ्रष्टाचारको शैलीमा परिवर्तन आएकाले कारबाहीमा चुनौती थपिएको घिमिरेको भनाइ छ आजको अन्नपूर्ण पोष्टमा खबर छ।