मध्यप्रदेशमा कांग्रेस अगाडि
मतगणनाको सुरुवाती नतिजा अनुसार मध्यप्रदेशको कुल २३० सिटमध्ये कांग्रेसले ११९ सिटमा अग्रता बनाइरहेको छ । यहाँ भाजपाले ९२ सिटसहित कांग्रेसलाई पछ्याइरहेको छ भने अन्य दल ११ सिटसहित अघि बढिरहेका छन् ।
मध्येप्रदेशको सुरुवाती मतपरिणाम अनुसार भाजपाले यहाँ ६६ सिट गुमाउने देखिएको छ । तर यसअघि निक्कै कमजोर रहेको कांग्रेसले ६२ सिट बढाएर भाजपको सत्तामा हत्याउने तर्फ अग्रसर भएको छ ।
छत्तीसगढमा भाजपाको बिजोग
माओवादी प्रभावित राज्य छत्तीसगढबाट आएको सुरुवाती नतिजामा कांग्रेसले बहुमत भन्दा धेरै सिट ल्याउने देखिएको छ । यहाँ बहुमतका लागि ४६ सिट चाहिने अवस्थामा कांग्रेसले सुरुवातबाटै ६७ सिटमा अग्रता बनाइरहेको छ ।
कांग्रेसलाई पछ्याइरहेको भाजपाले यहाँ १७ सिटमा सुरुवाती अग्रता बनाएको छ । यो राज्यमा भाजपाले ३२ सिट गुमाउने सुरुवाती आँकडा आउँदा कांग्रेसले २८ सिट थप्ने देखिएको छ । यहाँ अन्य दलले ६ सिटमा अग्रता बनाइरहेका छन् ।
राजस्थानमा कांग्रेसको सरकार
सन् २०१३ को निर्वाचनमा १६३ सिटसहित प्रचण्ड बहुमत पाएको भाजपालाई विपक्षी दल कांग्रेसले नराम्ररी पछार्ने देखिएको छ । कुल २०० सिट रहेको यहाँ बहुमतका लागि १०१ सिटको आवश्यकता छ । सुरुवाती अवस्थामा यहाँ कांग्रेसले १०० सिटमा अग्रता बनाएको छ । अर्थात् उसले अब एक सिटमा अग्रता बनाउँदै जितेको अवस्थामा बहुमत पक्का गर्नेछ ।
यहाँ सत्तारुढ दल भाजपाले ७० सिटमा अग्रता बनाउँदै २ सिटमा जित निकालेको छ । यहाँ अन्य साना दलले २६ सिटमा अग्रता बनाइरहेका छन् ।
तेलङ्गनामा भाजपाको झन् बिजोग
भारतको दक्षिणी राज्य तेलङ्गनामा भाजपालाई प्रधानमन्त्री मोदीको जादुको उल्टो असर देखिएको छ । यहाँ तेलङ्गना राष्ट्र समिति (टीआरएस) पार्टीले ७३ प्रतिशत सिट जित्ने सुरुवाती आँकडा देखिएको छ । बहुमतका लागि ६० सिट चाहिने यहाँ टीआरएसले ८४ सिटमा अग्रता बनाइरहेको छ भने २ मा जित निकालिसकेको छ ।
टिआरएसलाई पछ्याइरहेको कांग्रेसले २० सिटमा अग्रता बनाएको छ । टीआरएस प्रचण्ड बहुमततर्फ अग्रसर भइरहेका बेला यो पटक कांग्रेसले यहाँ १७ सिट गुमाउने देखिएको छ ।
कांग्रेस दोस्रो स्थानमा अघि बढिरहेको अवस्थामा मोदीको दल भाजपाको भने यहाँ कन्तबिजोग भएको छ । अर्थात् मोदीको स्टारडमले यहाँका मतदातालाई छुँदै नछोएको कुरा प्रारम्भिक नतिजाले देखाएको छ । तेलङ्गनामा भाजपाले अहिलेसम्म केबल २ सिटमा मात्रै अग्रता बनाउन सकेको छ ।
मिजरोममा कांग्रेस बढारियो
अर्को राज्य मिजरोममा पनि स्थानीय दलले बहुमत पक्का गर्ने देखिएको छ । अहिलेसम्मको नतिजामा मिजरोम नेशनल फ्रन्टले १८ सिट जितेको छ भने सात सिटमा अग्रता बनाएको छ ।
मिजरोमको सत्तारुढ दल कांग्रेस भने करिब पत्तासाफ भएको छ । यहाँ कांग्रेसले १ सिटमा अग्रता बनाएको छ भने ४ सिटमा जित निकालेको छ । सन् २०१३ को निर्वाचनमा ३४ सिट जितेर सत्ता चलाएको कांग्रेसलाई यहाँ स्थानीय दलले बढारेको हो ।
२०१३ को चुनावमा केबल ५ सिट जितेको मिजरोम नेशनल फ्रन्टले यस पटक २० सिट थप्दै शानदार बहुमत बनाउने देखिएको छ । ४० सिट रहेको यहाँ २१ सिट जितेमा बहुमत पुरा हुन्छ । यहाँ भाजपाले एक सिटमा अग्रता बनाएको छ । उसले अहिलेसम्म एक सिट पनि नजितेकाले उसको अवस्था यहाँ अत्यन्त नाजुक देखिएको छ । अन्नपूर्ण पोष्टबाट
