काठमाडौं, २३ मंसिर । पार्टीको बैठक बोलाउने, पटकपटक स्थगित गर्ने र बैठक बस्ने दिन पनि पर्खाएर अपमान गर्ने परम्परा बसेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार शीर्ष नेताले केन्द्रीय सचिवालय बैठक बहिष्कार गरेका छन् ।
‘३ बजे बैठक बोलाइएको थियो, तर साढे ३ बज्दासम्म पनि उहाँहरू ९अध्यक्षद्वय० बैठक कक्षमा आउनुभएन, हामीलाई कुनै सूचना पनि गरिएन, १५ मिनेटभन्दा बढी नपर्खिने पहिल्यै गरिएको निर्णय पालना नगरिएकाले चारजना उठेर हिँडेका हौँ,’ वरिष्ठ नेता झलनाथ खनालले भने, ‘नियम र निर्णयहरू पालना नगर्ने बेथितिका विरुद्ध हामीले कदम चालेका छौँ । बैठक बोलाउनेहरूले समय, नियमको ख्याल गर्नुपथ्र्यो, बोलाइसकेपछि बैठक समयमै राख्नुपर्थ्यो ।’
९ सदस्यीय सचिवालयमा ४ जना शीर्ष नेताले बैठक बहिष्कार गरेसँगै अध्यक्षद्वय ओली र प्रचण्डसहित ५ जनाको बहुमतले बैठक संचालन गरेको थियो । महासचिव पौडेल, सचिवालय सदस्यद्वय रामबहादुर थापा ‘बादल’ र ईश्वर पोखरेलले बैठक संचालनका लागि अध्यक्ष ओली र प्रचण्डलाई साथ दिएका थिए । बैठकले २९ मंसिरमा स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ । नयाँ पत्रिकाबाट