काठमाडौं, १० मंसिर । निगमले २०६६ मा प्रक्रिया सुरु गरेर २०७१ मा एयरबसकै न्यारोबडी ९ए३२०–२००० ल्याएको थियो । यही विषयमा जेल गएका तत्कालीन कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार एयरबसले बैना फिर्ता गरिदिएपछि मात्रै जेलमुक्त भएका थिए । तर, दुईवटा न्यारोबडी सीधै निर्माता कम्पनी एयरबससँग किनेको निगमले यसपालि वाइडबडी भने तेस्रो पार्टी खडा गरेर किनेको छ ।
निगमको अर्को दाबी छ, ‘एयरबससँग सीधै किन्दा कम्तीमा दुई वर्ष लाग्छ, हामीलाई छिटो जहाज चाहिएको थियो ।’ निगमले भनेजस्तै हतारो के थियो भन्ने स्पष्ट छैन आजको नयाँ पत्रिकामा खबर छ। यसअघि ल्याइएका न्यारोबडी जहाजले समेत पर्याप्त उडान पाएका थिएनन् ।
जहाज किन्न सरकारको जमानत लिन निगमले पूर्वको सिड्नी, मेलबर्न, टोकियो, ओसाका, सोल, बेइजिङ, सिंगापुर र पश्चिमको फ्रांकफर्टदेखि लन्डनसम्म उडान भर्ने आकर्षक योजना प्रस्तुत गरेको थियो । तर, युरोपियन युनियनले नेपालका वायुसेवा कम्पनीहरूलाई कालोसूचीमा राखेकाले यी गन्तव्यमा जान बाधा नै थियो । कालोसूचीबाट नेपाललाई हटाउन र थप गन्तव्य खोल्न सार्थक प्रयास भएको थिएन ।
तर, सरकारसँग मिलेर यी सबै काम गर्नुको सट्टा निगमले जहाज ल्याउन हतार ग¥यो । त्यसैले दिनमा १५ घन्टासम्म उड्ने जहाज ६ घन्टा मात्र उडिरहेका छन् । जहाज आएको पाँच महिनासम्म पनि युरोपमा मात्र होइन, चीन र जापान जाने आधार तय हुन सकेको छैन ।