रुपन्देही, ३ मंसिर। तिलोत्तमा नगरपालिकामा गाईको पनि जन्म, बसाइसराई र मृत्यु दर्ता हुने भएको छ । गाईको घटना दर्ता गराएबापत किसानहरुले भत्तासमेत पाउने छन् ।
छाडा चौपायाका कारण नगरमा धेरै समस्या देखिन थालेपछि त्यसलाई नियन्त्रण गर्न नगरपालिकाले ‘छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधि–२०७४’ पनि जारी गरेको छ ।
गाईको जन्म दर्ता, मृत्यु दर्ता र बसाइसराई गराउने किसानलाई नगरपालिकाले यातायात खर्च स्वरुप भत्तासमेत उपलब्ध गराउने भएको छ । गाईको घटना दर्ता गराउन वडा कार्यालय आउने किसानलाई प्रोत्साहन गर्न भत्ताको अवधारण ल्याइएको हो ।