काठमाडौं, ३ मंसिर । एक सातादेखि सात सहरमा वायुको गुणस्तर खस्कँदै गएको पाइएको छ। काठमाडौं, चितवन, नेपालगन्ज, दाङ, पोखरा, ललितपुर र सिमराको वायु प्रदूषण राष्ट्रिय मापदण्डभन्दा पाँच गुणासम्म बढेको वातावरण विभागको तथ्यांक छ।
वायुको गुणस्तर खस्किए पनि सम्बन्धित निकायले नियन्त्रण र सावधानीका कार्यक्रम ल्याउन भने सकेको छैन। गुणस्तर सुधारका लागि कार्यक्रम नरहेको विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले बताए। जाडो बढेसँगै वायु गुणस्तर खस्कने भएकाले सावधानी अपनाउन उनको सुझाव छ।
चितवनको वायुको स्तर सौरहामा ६९ देखि ७८, दाङमा ८७, सिमरामा ८७, पोखरा विश्वविद्यालय स्टेसनमा ५१ देखि ५४, भैंसेपाटीमा २१, धुलिखेलमा ३८ र पुल्चोकमा ४७ पीपीएम पुगेको छ। वातावरण विभागले रत्नपार्क, शंखपार्क, भैंसेपाटी, वीरेन्द्र स्कुल भक्तपुर, पुल्चोक ललितपुर, धुलिखेल काभ्रे, दाङ, नेपालगन्ज, सिमरा, सौरहा, पोखरा विश्वविद्यालय, गण्डकी बोर्डिङ स्कुल पोखरा, लुम्बिनी र सुनसरीको झुम्कामा मेसिन राखेर वायुप्रदूषण मापन गर्दै आएको छ आजको अन्नपूर्ण पोष्टमा खबर छ।