काठमाडौं, १८ कार्तिक। युवा तथा साना व्यवसायी स्वरोजगार कोषकै संरक्षण र मिलेमतोमा सहकारीले ऋणीसँग बढी ब्याज लिएको पाइएको छ । बेरोजगार व्यक्तिलाई रोजगार बनाउन विभिन्न सहकारीमार्फत रकम वितरण गरेकोमा सहकारीले मनलाग्दी ब्याज लिएको र कोषले कारबाहीको सट्टा संरक्षण गरेको पाइएको हो ।
कतिपय एउटै सहकारीले तीन किसिमको ब्याजसमेत लिएको पाइएको छ । त्यसमा कोषले भने अनुगमन गरेरसमेत कुनै कारबाही नगरेको र कतिपयमा भने कागजमा मात्र अनुगमन राखेर तलबभत्ता लिएको समेत फेला परेको हो ।
कृषि सहकारी कास्कीले बस व्यवसायी र ट्याक्सी व्यवसायीलाई समेत स्वरोजगार कोषबाट प्राप्त रकम नियमविपरीत लगानी गरेको फेला परेको छ । कोषको रकम बेरोजगार र निरक्षरका लागि रोजगार बनाउने उद्देश्य भए पनि मनलाग्दी गरिएको पाइएको हो ।
सुनसरीको इटहरीमा अवस्थित अंकुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सुन व्यवसायीलाई पनि स्वरोजगारको नाममा रकम दिएको छ । सहकारीले नियमविपरीत सीताराम विश्वकर्मालाई २ लाख लगानी गरेको हो । के.ब. बस्नेत सुन पसललाई पनि २ लाख दिएको छ ।
सहकारीले शिवा गुरुङको कोल्ड ड्रिङस डिलरलाई पनि २ लाख लगानी गरेको भेटिएको हो । कोल्ड ड्रिङस होलसेल व्यवसायी रामकुमार प्रधानले पनि स्वरोजगारको लाख रुपैयाँ पाए भने निर्मल दाहालको मोबाइल पसलले २ लाख पाएको छ ।