एजेन्सी, १२ कार्तिक । लायन एयरको बोइङ ७३७ यात्रुवाहक विमान जकार्ताबाट उड्नासाथ खसेको इन्डोनेशियाका अधिकारीहरूले बताएका छन्। उडान नं. जेटी.६१० जकार्ताबाट पाङ्काल पिनाङका लागि गइरहेको थियो।
विमानमा सवार यात्रुहरूको अवस्थाबारे केही थाहा हुन नसकेको विवरणहरूमा जनाइएको छ। राष्ट्रिय खोज तथा उद्धार निकायका एकजना प्रवक्ता युसुफ लतिफले पत्रकारहरूलाई भने, “विमान दुर्घटनामा परेको पुष्टि भएको छ।”
त्यसअघि सो एयरलायनका प्रमुख कार्यकारीले समाचार संस्था रोयटर्सलाई भनेका थिए, “हामी अहिले कुनै प्रतिक्रिया दिन सक्दैनौँ। हामीले सबै सूचना र तथ्य सङ्कलन गरिरहेका छौँ।”
तान्जुङ प्रिओकस्थित बन्दरगाहका एक अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यले एउटा सानो पानीजहाजले समुद्रमा विमानका भग्नावशेष देखेको जनाएका छन्।
सुयादी नाम गरेका ती अधिकारीले घटनास्थलतर्फ अरू पानीजहाज पठाइएको बताएका छन्। लायन एयर इन्डोनेशियाको एक बजेट अर्थात् सस्तो वायुसेवा प्रदायक कम्पनी हो।
सन् २०१३ मा लायन एयरकै एउटा विमान अवतरणका क्रममा समुद्रमा खस्दा त्यसमा सवार सबै एक सय आठजना बाँच्न सफल भएका थिए। सन् २००४ मा उसकै एउटा विमान सोलो शहरमा दुर्घटनामा पर्दा २५ जनाको ज्यान गएको थियो।