रसुवा, ११ कार्तिक । भूकम्पले विनाश भएको लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रको पदयात्राका लागि यो सिजनमा पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ । विनाशकारी भूकम्पका कारण लाङटाङ पूरै बस्ती उजाड भएको थियो ।
लाङटाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत शिव गैरेका अनुसार साउन र भदौमा ६५५ जना पर्यटक आएकामा शरद् ऋतु असोज र कात्तिक पहिलो सातासम्म दैनिक सयभन्दा बढीपर्यटक आएका छन् । पर्यटकको आगमनले स्थानीयस्तरमा चहलपहलसमेत बढ्न थालेको बताइएको छ ।
पर्यटकको आगमनले निकुञ्जको प्रवेश शुल्कवापत पर्यटकबाट मूल्य अभिवृद्धि करसमेत करिब ७० लाख रुपियाँ राजस्व सङ्कलन भइसकेको लाङटाङ राष्ट्रिय निकुन्ज कार्यालयले जनाएको छ । यहाँ आउने पर्यटकमा बेलायत, जर्मनी, फ्रान्स, इजरायल, नेदरल्याण्ड्स, अष्टे«लिया, स्वीट्जरल्याण्ड, जापान, दक्षिण कोरिया, अमेरिकालगायत देशका छन् ।
गतवर्ष यस अवधिमा दुई हजार ९७८ पर्यटक आएका थिए भने यस वर्षको कात्तिकभरमा झण्डै तीन हजार पाचसय पर्यटक आउने अनुमान गरिएको निकुञ्जका प्राविधिक रमेश बस्नेतले बताए ।
गत आर्थिक वर्षमा१३ हजार ७८९ विदेशी पर्यटकको आगमन भएको जनाइएको छ । पर्यटकहरू लाङटाङ क्षेत्रको मनमोहक दृश्य, गोसाइँकुण्ड एवं स्थानीय कला, संस्कृति, भेषभूषा अवलोकन गरी फर्कने गरेको स्थानीय व्यवसायी फिन्जो तामाङले बताए ।
स्याफ्रुबेंसीबाट एउटा मार्ग खाम्जिङ, शेर्पागाउँ र अर्को मार्ग खोलाको तीरैतीर जाने बताउँदै घोडातबेलाका पर्यटन व्यवसायी ढिण्डुप तामाङले स्याफ्रुबाट पर्यटक हिँडेपछि एक दिन लामा होटल र अर्को दिन क्याङ्जिन पुग्ने गरेका छन् ।
समुद्री सतहदेखि तीन हजार नौसय मिटर उचाइको क्याङ्जिनबाट पर्यटकले दोर्जे लाक्पा, चेर्कोरी, क्यान्जि रीलगायत अग्ला स्थानको अवलोकन गर्ने गरेका छन् । क्यान्जिन हिमउपत्यका पुगेका पर्यटकको बसाइ कम्तीमा तीन दिन हुने भएका कारण होटल व्यवसायीले सिजन अनुसार मनग्य आम्दानी गर्ने गरेको बताइएको छ ।