काठमाडौँ, १८ असोज । नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेशन अनिश्चित बन्दै गएको छ । पार्टीको नेविसङ्घ हेर्ने समितिले विधान र नियमावली पारित नगर्दा महाधिवेशन अनिश्चित बन्दै गएको हो ।
उक्त सङ्घको वर्तमान कार्यसमितिको म्याद भदौ २ गते सकिएकाले पार्टीले तीन महीनाभित्र निर्वाचन सम्पन्न गर्न निर्देशन दिएबमोजिम आगामी मङ्सिर २ गते म्याद सकिँदैछ ।
पार्टीबाट विधान र नियमावली अनुमोदन भएपछि असोज ७ गते देशभरका माध्यामिक विद्यालय र क्याम्पसमा अधिवेशन, असोज १२ मा सबै स्थानीय तहमा अधिवेशन, असोज १५ मा क्षेत्र अधिवेशन, असोज २१ मा ७७ वटै जिल्लाको अधिवेशन, असोज २३ मा उपत्यकाभित्रका क्याम्पस अधिवेशन, कात्तिक १० र ११ मा सातै प्रदेशको अधिवेशन र कात्तिक १६ देखि १८ सम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने समयतालिका पार्टीलाई बुझाएको थियो ।
नेविसङ्घका उपाध्यक्ष रामप्रसाद अधिकारी निर्देशन समितिले दिएको निर्देशनअनुसार नै समयतालिका, विधान र नियमावली निर्देशन समितिलाई बुझाउँदा पनि निर्वाचन टार्ने खेल भइरहेको बताए ।
“संस्थापन पक्ष ३२ वर्ष उमेर हदको कारण देखाएर महाधिवेशन टार्ने पक्षमा देखिन्छ,” उनले भने । पछिल्लो समय अन्य भातृ सङ्गठन आफ्नो समूहबाट पराजित हुँदै गएपछि संस्थापन पक्ष निर्वाचन गर्ने पक्षमा नरहेको उनको भनाइ छ । रासस