काठमाडौं, १४ असोज। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रदेश कमिटीको घोषणासँगै विवाद शुरु भएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच विवाद शुरु भएको हो ।
पार्टी अध्यक्ष ओलीले सचिवालयको निर्णयबाट कमिटी घोषणा भएको भन्दै यसमा आपत्ति जनाउनुपर्ने कुनै तुक नभएको जनाएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका ओलीले असहमतिका लागि मात्रै असहमति जनाइएको भन्दै वरिष्ठ नेता नेपालको असन्तुष्टिलाई सम्बोधन नगर्ने संकेत गरेका छन् आजको राजधानीमा खबर छ।
तर सहमतिविपरीत प्रदेश कमिटीको घोषणा भएको भन्दै त्यसलाई नमान्ने चेतावनी नेपालले दिएका छन् । लिखित रूपमै पार्टी महासचिव विष्णु पौडेललाई नेता नेपालले असहमति जनाएका छन् । अध्यक्ष ओलीले मुख खोले पनि अर्का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले यस विषयमा केही बोलेका छैनन् । उनी पत्नी सीता दाहालको उपचारका लागि सिंगापुरमा छन् ।
पार्टीमा अध्यक्षद्वय ओली र दाहालले सहमतिविपरीत निर्णय गर्न थालेको भन्दै नेता नेपाल आक्रोशित छन् । उनले यस्ता निर्णयको विरोधमा उत्रिन आफू निकटका नेतालाई सुझाएका छन् । शुक्रबार नै पार्टी स्थायी कमिटी सदस्यहरूलाई चियापान एवम् शुभकामना कार्यक्रममा अध्यक्षद्वयले गरेको प्रदेश कमिटीको गठन निर्णय नमान्ने चेतावनीसमेत दिएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सरकारको गतिविधिका बारेमा टिप्पणी गर्दै वरिष्ठ नेता नेपालले आलोचना गरे । प्रतिपक्षी दलका नेताजस्तै कडा रूपमा उत्रिएका नेपालले सरकारको कामबारे कडा रूपमा विरोध गरे ।
पार्टी अध्यक्ष ओली अमेरिका प्रस्थान गर्नुअघि बसेको पार्टी सचिवालय बैठकले प्रदेशको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी बाँडफाट गर्ने निर्णय गरेको थियो ।
नेता नेपालले सरकार र पार्टीको काम राम्रोसँग हुन नसकेको आरोप लगाउँदै समीक्षा गर्न पार्टी स्थायी कमिटीको बैठक बस्नुपर्ने आवश्यक रहेको बताए । आफूले बैठकको माग गरिसकेको बताउँदै उनले अबको बैठकमा पार्टी र सरकारको सम्पूर्ण कामबारे समीक्षा गर्नुपर्ने बताए ।
सहमतिविपरीत भएको निर्णय मान्य नहुने भन्दै प्रदेश कमिटीका साथै सरकारलगायतका गतिविधिका विषयमा विस्तृत छलफल हुनुपर्ने अडानमा नेता नेपाल रहेका छन् । ओली, दाहाल, नेपाललगायतका नेताका बीचमा प्रदेश कमिटीको टुंगो स्थायी कमिटीबाट लगाउने सहमति भएको थियो ।
अहिले पार्टीको भ्रातृसंगठनका साथै तल्ला कमिटीहरूको एकीकरण नहुँदा भद्रगोलको अवस्था रहेको छ । पार्टी सचिवालय सदस्य वामदेव गौतमले पार्टी सचिवालयले प्रदेश कमिटीको टुंगो लगाइसकेको र प्रदेश कमिटीले तल्लो तहको कमिटीको एकीकरण टुंगो लगाउने जिम्मेवारी दिएको बताए ।
नेकपा स्थायी कमिटी सदस्य गणेश साहले पार्टीको बैठक नियमित नहुँदा नेताहरूको असन्तुष्टि बढ्दै गएको बताए । सचिवालयको बैठक बस्ने तर केही नहुने अवस्था रहेको छ । स्थायी कमिटीको बैठक पनि बस्न सकेको छैन । सरकार र पार्टीको गतिविधिबारे छलफल एवं ठोस निर्णयका लागि बैठकको माग उनले गरे ।