एजेन्सी, १२ असोज । प्रशान्त महासागरको किनारमा रहेको एक विमानस्थलमा अवतरण गर्ने क्रममा शुक्रबार एउटा विमान धावनमार्गमा चिप्लिएर समुन्द्रमा पसेको छ।
विमान बिहान करिब ९ः३० बजे अवतरण गर्ने तालिका थियो। अवतरणका लागि आइपुगेको विमान धावनमार्गमा नरोकिई अघि बढेको थियो। सिधा अगाडि समुन्द्र रहेका कारण विमान समुन्द्रभित्र प्रवेश गर्यो।
मैले हामी अवतरण भयौं होला भन्ने सोच्दैथिएँ। एक्कासी विमानका प्वालबाट पानी आएको देखेँु, एक जना यात्रु बिल जयनेसले भने, विमानभित्र पानी भरिनुभन्दा अगाडि नै उद्धारकर्ता आइपुगेर हामीलार्इ बाहिर निकाले।
धावनमार्गमा १६० मिटर दौडिएपछि विमान अगाडिको समुन्द्रमा पुगेको थियो। जहाजमा ३६ यात्रु र ११ चालक दल सदस्य थिए। विमानस्थलका अनुसार विमानमा रहेका सबै यात्रु सकुशल छन्। विमानमा रहेका यात्रु एवं चालक दल सदस्यलाई अस्पताल भर्ना गरिएको छ।
एयर न्यूगिनले एक विज्ञप्ति जारी गर्दै एयरलाइन्स कम्पनीले यात्रु र चालक दल सदस्यको हेरचाहमा ुसबै प्रयासु जारी राखेको जनाएको छ। दुर्घटनाको छानवीन गर्न पपुआ न्यू गिनीको एक टोली दुर्घटनास्थल पुगेको छ। सन् २०१३ मा १०१ यात्रु बोकेको लायन एयरको जहाज इन्डोनेसियाको डेन्पासरमा अवतरण गर्ने क्रममा पानीमा पुगेको थियो।