Indrenionline.com

संयुक्त राष्ट्रसङ्घ महासभामा प्रम ओलीको सम्बोधन- नेपालको राजनीतिक सङ्क्रमणको अन्त्य अभिप्रेरणा बन्नसक्छ

न्यूयोर्क, १२ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन शान्तिपूर्ण तथा प्रजातान्त्रिक सङ्क्रमणको विश्वकै लागि मौलिक उदाहरण भएको बताएका छन् ।

उनले ‘‘वार्ताले मतभेद पराजित गर्छ र मतले गोलीलाई पराजित गर्छ’’ भन्ने भनाइको साक्षी–बयानको रुपमा नेपालको शान्ति प्रक्रियालाई प्रस्तुत गर्न सकिने पनि बताए ।

संयुक्त राष्ट्रसङ्घ, महासभाको ७३ औँ महाअधिवेशनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका प्रधानमन्त्री ओेलीले सम्बोधनका क्रममा नेपालको राजनीतिक द्वन्द्व व्यवस्थापन विश्वका विभिन्न भागमा शान्तिको कामना गर्ने धेरै व्यक्तिलाई अभिप्रेरक कथा बन्नसक्ने भएकाले नेपालले यो अनुभव र अन्तर्दृष्टि अन्य पक्षसँग साझेदारी गर्न चाहेको बताए ।

उनले प्रजातान्त्रिक सङ्क्रमणको कठिन यात्रापछि नेपाल आफैँले दिगो राजनीतिक र आर्थिक सङ्क्रमणको मार्गको रुपमा ‘समृद्ध नेपाल र सुखी नेपाली’ को दृष्टिकोण अगाडि बढाएको जानकारी दिए ।