सल्यान, १० असोज । सल्यानको कपुरकोट गाउँपालिकामा ६ वटा पुस्तकालय स्थापना भएका छन् । गाउँपालिकाभित्रका ६ वटा सामुदायिक विद्यालयमा साक्षरता कार्यक्रम अन्तर्गत पुस्तकालय स्थापना भएका हुन् ।
यसक्रममा बुधबार कालिका मावि कपुरकोटको पुस्तकालय गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले उद्घाटन गरेका छन् । सो क्रममा उनले मानिसलाई ज्ञानको महासागरमा पुर्याउन र शशक्त बनाउन पुस्तकको महत्व रहेको बताए । अध्यक्ष सेनले गाउँपालिकाभित्र रहेका पुस्तकालयहरुमा पुस्तकको संख्या थप्दै लैजाने पनि प्रतिवद्धता जनाए ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रुद्रविर कवरको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण भण्डारी, शिक्षक महासंघ कपुरकोट गाउापालिकाका अध्यक्ष श्याम कुमार केसी, रुम टू रिडका कार्यक्रम अधिकृत बाबुराम पोख्रलेलले बोल्दै एक ठाउँमा बसेर अनेकथरि ज्ञान प्राप्त गर्न सकिने भएकाले पुस्तकालयको महत्व निकै रहेको बताएका थिए ।