न्यूयोर्क, १० असोज । प्रधानमन्त्री केपी ओलीले शान्ति र सुरक्षालाई अन्तर्राष्ट्रिय रुपमै बलियो बनाउनुपर्ने बताएका छन् । ‘‘नेपाल सधै शान्तिको पक्षमा छ, संयुक्त राष्ट्र सङ्घको मुख्यालयभित्र ट्रस्टिसिप च्याम्बरमा आयोजित ‘शान्ति स्थापनार्थ कार्य’ एक्सन फर पिसकिपिङको उच्चस्तरीय बैठकमा उनले भने , ‘विश्वका अन्य मुलुक पनि शान्तिको पक्षमा हुनुपर्छ । अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको लागि सबै मुलुक बलियो भएर उभिनुपर्छ ।’
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसलेको ‘शान्ति स्थापनार्थ कार्य’ एक्सन फर पिसकिपिङको प्रयास यसै वर्ष मार्च २८ मा आरम्भ भएको हो । शान्ति स्थापनाका प्राप्ति तथा भोगिएका चुनौतीका विषयमा समझदारी साझेदारी गर्नु तथा स्थगलगत रूपमा शान्ति स्थापना गर्ने कार्यलाई बलियो बनाउन सदस्य मुलुकको राष्ट्रगत तथा सामूहिक वचनबद्धता नवीकरण गर्नु एक्सन फर पिसकिपिङको उद्देश्य छ ।
‘संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापनार्थ कारवाही सञ्चालनप्रति साझेदारीयुक्त बचनबद्धताको घोषणापत्र’ महासचिव गुटेरेसको पहलको एक भाग हो । उनले संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापनार्थ कारवाही सञ्चालनप्रति राजनीतिक समर्थन नवीकरण गर्न प्रयास गरिएको छ । घोषणापत्रले शान्ति स्थापनार्थ कार्यको राजनीतिक प्रभाव विस्तार गर्न र यसले दिने सुरक्षालाई बलियो बनाउन विशेष वचनबद्धता प्रकट गर्छ । रासस