काठमाडौँ, १० असोज। मलेसियामा अवैधानिक रूपमा रहेर काम गरेका ४७ जना नेपाली श्रमिक पक्राउ परेका छन् । अवैधानिक रूपमा कार्यरत आप्रवासी श्रमिकको खोजी र पक्राउ गर्ने मलेसिया प्रहरीको अभियानमा एकै कम्पनीबाट ४७ जना नेपाली प्रक्राउ गरिएको हो ।
मलेसिया सरकारले गएको जुनदेखि अगष्टसम्म (असार १७ गतेदेखि भदौ १७ गतेसम्म) मलेसियामा अबैधानिक भएर वसेका आप्रवासी श्रमिकलाई आ –आफ्नो देश फर्कन आब्हान गरेको थियो । त्यहाँको सरकारको आग्रहलाई बेवास्ता गरेर वस्ने विदेशी श्रमिकलाई सेप्टेम्बरको दोस्रो सातादेखि नै धरपकड गर्न थालेको र त्यसमा कतिपय ठाउँमा नेपाली पनि पर्ने गरेको दूतावासले जनाएको छ ।
मलेसियका कार्यवहाक राजदूत कुमार खरेलले अवैधानिक भएर बसेकालाई दूतावासमार्फत पटक पटक सूचना गर्दागर्दै नेपाली श्रमिकले आममाफीमा भाग नलिएको जानकारी दिए ।
मलेसिया सरकारले आब्हान गरेको तीन महिने आममाफी कार्यक्रममा झण्डै २५ हजार नेपाली श्रमिकले फाइदा लिएको पनि उहाँले जानकारी दिनुभयो । कार्यवहाक राजदुत खरेलका अनुसार मलेसिया सरकारको धरपकडमा पर्नेमा अधिकांश नेपाली श्रमिकमध्ये आफूले काम गर्न स्वीकृति लिएर आएको कम्पनी छोडेर अर्को कम्पनीमा जाने रहेको र केही मात्रै करार अवधि सकिएका रहेका छन ।
उनले प्रक्राउ परेकालाई अवैधानिक भएर बसेको अवधिका आधारमा सजाए तोकिने भएकाले अदालती निर्णयअनुसार सजाय भुक्तान गरेपछि घर फिर्ती केन्द्रमा राखेर निश्चित अवधि पूरा गरेपछि स्वदेश फर्कन सक्ने बताए ।