काठमाडौं, ८ असोज । अनशनरत गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीले उच्च अदालत पाटनमा वितण्डा मच्चाएका छन्।
आफूले वारेस बनेर जिम्मा लिएको मुद्दा हारेपछि उनले इजलास अधिकृत रोशन बस्नेतमाथि आक्रमण गर्दै अदालतमा तोडफोड गरेका हुन्। घटना लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको छ।
‘मुद्दा हारेपछि नुरप्रसादले हिजो साँझ पौने ५ बजेतिर इजलास अधिकृतमाथि कुर्सी प्रहार गरेका हुन्, उनले छलेपछि कुर्सी झ्यालमा ठोक्किएर सिसा फुटेका छन्,’ रजिष्ट्रार दाहालले नेपालखबरसँग भने, ‘मेरो टार्गेट न्यायाधीशमाथि नै थियो तर, उनीहरूलाई नभेटेकाले इजलास अधिकृतलाई नै हानेको हुँ भन्दै थियो।’
उनको आक्रमणबाट इजलास अधिकृत रोशन बस्नेतको हातमा सानो चोट लागेको छ। यदि कुर्सीले लागेको भए बस्नेत गम्भीर घाइते हुने अवस्था रहेको रजिष्ट्रार दाहालले बताए। संयोगवश उनले कुर्सी छल्न भ्याएकाले ठूलो दुर्घटना हुनबबाट बचेको हो।
साथै नुरप्रसादले अदालतका कम्प्युटर, दराजलगायतका सामान पनि तोडफोड गरेका छन्। ‘ऊ जहिले ठूला कुरा मात्र गरिरहन्थ्यो,’ दाहालले भने, ‘सायद उसले जिम्मा लिएको मुद्दामा केही आश्वासन दिएको हुँदो हो, त्यो पूरा नभएपछि आक्रमणमा उत्रियो।’ अहिले उनी जावलाखेल प्रहरीको नियन्त्रणमा छन्।
माओवादी विद्रोहका बेला मारिएका गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही माग गर्दै आमा गंगामाया अनशनरत छिन् भने बुवा नन्दप्रसादको अनशनकै क्रममा मृत्यु भइसकेको छ। नेपाल खबरबाट