काठमाडौँ, ३ असोज । मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या छ पुगेको छ । विषाक्त मदिरा सेवनबाट बसेरी–३ धादिङका मीमबहादुर घले, मसिना–६, रुपन्देही रामकुमार यादव, अमरगढी–५, डडेल्धुराका विशाल बुढाथोकी, पश्चिमकुसाहा–९, सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का–९, इलामका बलबहादुर कुलुङ्ग र ठेगना नखुलेका आइतसिंह गोलेको मृत्यु भएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।
मदिरा सेवनबाट बिरामी परेका सिद्धकाली–४, सङ्खुवासभाका लुङ्गनाथ मगर, मैनापोखर–३ बर्दियाका जीतबहादुर माझी, महेन्द्रनगर–६, सुनसरीका दुर्गाबहादुर राई र राङ्सी–४ रोल्पाका भागीमान डाँगी उपचारपश्चात कम्पनीमा फर्किसकेको दूतावासले जनाएको छ ।
मृतकको शव परीक्षण तथा अन्य आवश्यक अनुसन्धान प्रक्रिया सकिनासाथ सम्बन्धित रोजगारदाताको सहयोगमा नेपाल पठाउन पहल भइरहेको मलेसियाका लागि नेपाली कार्यबाहक राजदूत कुमारराज खरेलले जानकारी दिए ।
विषक्त मदिरा सेवनबाट नेपालीको मृत्यु तथा घाइते भएको खबर सार्वजनिक भएलगत्तै त्यहाँस्थित नेपाली दूतावासले प्रहरी मुख्यालसँग सम्पर्क राखी घटनाका बारेमा जानकारी लिएको थियो । मलेसियाका लागि कावा राजदूत खरेलले राति नै नेपालीको उपचार भइरहेका अस्पतालमा पुगेर उपचारमा सहजीकरण गरेको थियो ।
दूतावासले दुःखद् घटनामा परी ज्यान गुमाउने नेपालीका परिवार तथा आफन्तजनप्रति समवेदना व्यक्त गरेको छ । त्यस्तै गम्भीर बिरामी भई उपचाररत सबै नेपालीको शीघ्र स्वास्थ लाभको कामनासमेत गरेको छ ।
घटनामा मृत्यु हुनेको विस्तृत शव परीक्षण प्रतिवेदन आउन बाँकी नै रहेको र विषाक्त मदिारको स्रोत तथा यसमा जिम्मेवारको समबन्धमा मलेसियाको प्रहरी तथा अधिकारीले अनुसन्धान गरिरहेको दूतावासले जनाएको छ । घटनाको विस्तृत विवरण एवं सूचना सम्बन्धित निकायबाट प्राप्त भएपछि सार्वजनिक गरिने बताइएको छ ।
मलेसियामा नेपाली निम्नस्तरको र असुरक्षित मदिरा सेवनको कारणले मुत्यु हुने र मादक पदार्थ सेवनका कारण अन्य दुःखद् घटना यस अघि पनि घट्ने गरेपनि यति ठूलो सङ्ख्यामा हताहति भएको यो पहिलोपटक भएको दूतावासले जनाएको छ ।
मलेसियामा रोजगारीका लागि आएका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई आफ्नो स्वास्थ्य तथा सुरक्षामा विशेष ध्यान पु¥याउन दूतावासले बेलाबेलामा सचेतनात्मक सन्देशसहित आह्वान गर्दै आएको छ ।
नजिकै आउँदै गरेको दसैँ, तिहार र छठ जस्ता चाडपर्वको सन्दर्भमा नेपाल भन्दा विल्कुल फरक हावापानी, वातावरण र संस्कृति रहेको मलेसियामा आफ्नो स्वास्थ्य तथा सुरक्षामा थप सतर्कता तथा होसियारी अपनाउनसमेत क्वालालम्पुरस्थित नेपाली दूतावासले अपिल गरेको छ । रासस