Indrenionline.com

संविधान दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ, ३ असोज । आज संविधान दिवस । दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिने वातावरण बन्नु सबैका लागि खुशीको विषय भएको बताएकी छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७५ का अवसरमा शुभकामना सन्देश दिनुहुँदै उनले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गरेकी छन् ।

सन्देशमा राष्ट्रपति भण्डारीले भनेकी छन्, “सामाजिक आर्थिक विकासलाई गति प्रदान गर्ने संविधानको महत्वपूर्ण भावनालाई गहिरोसँग आत्मसात् गर्दै सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल, राज्यका सबै अङ्ग र आम नागरिक क्रियाशील हुनु सामयिक आवश्यकता हो भन्ने मलाई लागेको छ ।”

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीप्रति शुभकामना व्यक्त गरेका छन् ।

संविधान दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनमा ज्यान गुमाउनुभएका शहीदप्रति हादिक श्रद्धाञ्जलि अर्पण गर्दै मुलुकलाई विधिको शासनमा बाँध्न अतुलनीय योगदान गर्नुहुने सम्पूर्ण देशवासीप्रति हार्दिक आदर व्यक्त गरेका छन् ।