Indrenionline.com

आफ्नै छात्रालाई अस्लिल सामाग्री पठाएको आरोपमा डाक्टर पक्राउ

आफ्नै विद्यार्थीलाई फेसबुकमा अश्लील सामग्री पठाएर यातना दिएको आरोपमा ललितपुरको खुलटारस्थित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का एक वरिष्ठ भेटेरिनरी डाक्टर पक्राउ परेका छन् ।

आफ्नो गोप्य अंगको भिडियो तथा फोटो बनाएर एक छात्रालाई पठाएको आरोपमा प्रहरीले ५५ वर्षीय डा. मेघराज तिवारीलाई पक्राउ गरेको हो । डा. तिवारी नार्कमा पशु आहार महाशाखामा मुख्य वैज्ञानिकका रूपमा कार्यरत छन् । काठमाडौंको कलंकीस्थित हिमालयन कलेज अफ एग्रिकल्चर, साइन्स एन्ड टेक्नोलोजी (हिकास्ट)का शिक्षक रहेका तिवारीले आफ्नै छात्रालाई यौन दुव्र्यवहार गरेको तथा अश्लील सामग्री पठाएको आरोप छ ।

म्याद थपेर अनुसन्धान जारी
छात्राको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । डा. तिवारीलाई ७ दिनको म्याद थप गराएर महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान सुरु गरेको छ । महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले उजुरीमाथि अनुसन्धान भइरहेको बताए । ‘अश्लील फोटो र भिडियो छात्रालाई पठाएको उजुरीपछि उनलाई ७ दिनअघि पक्राउ गरिएको हो,’ एसपी उप्रेतीले भने ।

पीडित युवती विक्षिप्त अवस्थामा
डा. तिवारीबाट पीडित भनिएकी युवती विक्षिप्त अवस्थामा रहेको प्रहरीले जनाएको छ । कलेज पढ्न छाडेर गृहजिल्ला मोरङ पुगेकी उनी बाहिरी मान्छे देख्नेबित्तिकै डराउने अवस्था रहेकी र मानसिक रूपमा बिरामी देखिएकीले उनको उपचार भइरहेको प्रहरीको भनाइ छ ।

सो मुद्दामा उनको ‘स्टेटमेन्ट’ लिनका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोसाकमा प्रहरी खटिएको थियो । तर, उनी बिरामी भएकाले कुराकानी गर्न नसकिएको मोरङका एसपी मनोजकुमार केसीले बताए ।

यौन दुव्र्यवहारको आरोप गलत’
युवतीले आफूलाई डा. तिवारीले यौन दुव्र्यवहारसमेत गरेको दाबी गरे पनि जाहेरी भने विद्युतीय कारोबार ऐनअन्तर्गत मात्र परेको छ । तिवारीले मदिरा सेवन गरेका वेला एकपटक आफूले छात्रालाई अश्लील म्यासेज पठाएको स्वीकार गरेका छन् । तर, यौन दुव्र्यवहार गरेको आरोप भने उनले अस्वीकार गरेका छन् ।

प्रहरी स्रोत भन्छ– छात्राले उक्साएको देखिन्छ
प्रहरी स्रोतका अनुसार घटनामा छात्राको पनि बदनियत देखिएको छ । डा. तिवारीले अश्लील फोटो र भिडियो पठाउनुअघि छात्राले पटक–पटक डा. तिवारीलाई अश्लील सामग्री पठाउने गरेको अनुसन्धानमा पाइएको छ । ‘पहिले छात्राले नै तिवारीलाई पटक–पटक आफ्ना गोप्य अंगको फोटो र भिडियो पठाएको पाइएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसपछि तिवारीले पनि अश्लील सामग्री पठाएपछि त्यसलाई आधार बनाएर युवतीले उजुरी दिएको देखिन्छ ।’ यो खबर नयाँ पत्रिकाबाट साभार गरिएको छ ।