काठमाडौंँ, १ असोज । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलत्कारपछि हत्या भएको घटनालाई विस्तृत अनुसन्धान गर्न प्रहरीका नायव महानिरीक्षक (डिआइजी) धिरु बस्नेतको संयोजकत्वमा नौ सदस्यीय अधिकार सम्पन्न उच्चस्तरिय छानविन समिति गठन गरिएको छ ।
प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले डिआइजी बस्नेतको संयोजकत्वमा गठित अधिकार सम्पन्न समितिले निर्मला हत्या घटनाको गहिरो अनुसन्धान, प्रहरीको भूमिका र कमजोरीका विषयमा विस्तृत छानविन गरी रिपोर्ट तयार पार्ने बताए ।
निर्मला हत्या घटनामा विवादमा मुछिएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट, प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञानबहादुर सेठ्ठी, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)का डिएसपी अंगुर जिसीलाई निलम्वन गरिसकिएको छ ।
निर्मला हत्या घटनाको अनुसन्धानमा सक्रिय विशेष अनुसन्धान टोलीले हालसम्म पाँच सयभन्दा बढी ब्यक्तिमाथि अनुसन्धान गरेको जानकारी दिएको छ । तीमध्ये १२० जनालाई लिखित कागज गरी दैनिक तारेखमा राखेको अनुसन्धान टोलीले जनाएको छ । गोरखापत्रबाट