रसुवा, ३१ भदौ । पहिरो जाँदा दुई कामदारको मृत्यु भएको छ । एक चिनियाँ नागरिकसहित नौ जना घाइते भएका छन् । जसमध्ये चार जनाको अवस्था गम्भीर छ । राति पौने १० बजे खसेको सुक्खा पहिरोमा परी निर्माणाधीन रसुवागढी हाइड्रोपावरमा कार्यरत दुई कामदारको मृत्यु भएको हो ।
यसैगरी घटनामा घाइते भएका नौ जनामध्ये चिनियाँ नागरिक एमआर। वाइओ पिएचसी, रुकुम भूमे–२ का टेकमान बुढा, सोही ठाउँका जगदीश रोक्का र रुकुमकै कृष्णपुर नगरपालिका–१० का प्रकाश भट्टको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
थप उपचारका लागि उनीहरूलाई काठमाण्डु ल्याइएको छ । चिनियाँ नागरिक, टेकमान र जगदीशको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ भने प्रकाशलाई काठमाण्डु ल्याइँदै छ । अन्य घाइतेको अवस्था सामान्य रहेको रसुवा प्रहरीले जनाएको छ ।