Indrenionline.com

निर्मला पन्त हत्या प्रकरणमा राष्ट्रपति भण्डारीले मुख खोलिन्

काठमाडौँ, २९ भदौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा सङ्लग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसित आग्रह गरिन् ।

उनले भनिन्, “ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सरह हो’ भन्ने मान्यतालाई गम्भीरतापूर्वक मनन् गरी हत्यामा सङ्लग्न अपराधीलाई कानूनी दायराभित्र ल्याई दण्डित गर्न सबै पक्ष सम्बेदनशील बन्नुपर्छ । ”

राष्ट्रिय बाल दिवस २०७५ मूल समारोहलाई आज यहाँ सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले निर्मला पन्तका बाबु, आमा तथा परिवारजन न्यायका लागि छट्पटिरहनु दुःखद् हो भनिन् । उनले पन्तको बलात्कारपछि हत्याको घटनाले आफूलाई अत्यन्त दुःखी तुल्याएको चर्चा गर्दै यस दुःखद् घटनाप्रति परिवारजनमा सहानुभूति प्रकट गरिन् ।

राष्ट्रपति भण्डारीले संविधानप्रदत्त बालबालिकासम्बन्धी मौलिक अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न आग्रह गर्दै प्रभावकारी र व्यावहारिक कार्यान्वयनले मात्र बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार अन्त्य गर्न सकिन्छ बताइन् ।

बालबालिकामाथि हुुने हिंसा, दुव्र्यवहार, बलात्कार रोक्न प्रहरी, नागरिक समाज तथा घर परिवार एकजुट हुनुपर्छ उनको भनाइ छ । राष्ट्रपति भण्डारीले भनिन्, “कलिला बालिकामाथि हुने यौनजन्य हिंसा मानवताविरुद्धको कलङ्क हो, यसलाई जरैदेखि उखलेर फाल्नुपर्छ ।” रासस