Indrenionline.com

आज १०५ औँ बिपी जन्मजयन्ती

काठमाडौँ, २४ भदौ । नेपालली राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिने व्यक्तित्वको रुपमा रहेका बिपी कोइरालाको १०५ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आइतबार मुलुकभर मनाइँदैछ ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको बिरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई ‘पार्सल’ गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानु परेको थियो ।

भारत निर्वासनमै बिपीले भारतको स्वतन्त्रता संग्राममा पनि भाग लिएका थिए । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय भएका थिए । भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त्य गर्न विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय काँग्रेस स्थापना भएको थियो ।