Indrenionline.com

सम्बन्ध थप बलियो बनाउन प्रचण्ड भारत भ्रमण

काठमाडौँ, २२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन आफूले भारतको भ्रमण गरेको बताएका छन् ।

चारदिने भारत भ्रमणका क्रममा आज नयाँ दिल्लीस्थित नेपाली दूतावासमा प्रवासी नेपालीसँग छलफल गर्दै उनले भने “सरकारले अगाडि सारेको विकास योजनाको पक्षमा वातावरण बनाउन, नेपाल र भारतबीच भएका सम्झौता कार्यान्वयन तथा नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउनु भ्रमणको उद्देश्य हो ।”

हाल दुई देशबीचको सम्बन्धमा सकारात्मक विकास भएको उल्लेख गर्दै अध्यक्ष दाहालले भने “नेपालमा राजनीतिक स्थिरतासँगै बलियो सरकार बनेको छ, भारतमा पनि बहुमतको सरकार छ, भारतीय प्रधानमन्त्रीको ‘छिमेकीलाई पहिलो’ नीतिअन्तर्गत काम भइरहेको छ । यही अवस्थामा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउनुपर्छ, भारतको संवेदनशीलतालाई नेपालले बुझ्नुपर्छ, नेपालको संवेदनशीलता र नेपाली जनताको आवश्यकता तथा व्यापार घाटा समाधान गर्न भारतले पनि बुझ्नुपर्छ, यो नै राम्रो अवसर हो ।”

भारतीय सुरक्षा सल्लाहकारसँगको भेटमा भारतमा विभिन्न पेशा, व्यवसायमा संलग्न तथा उद्योग, कलकारखानामा काम गर्ने र दैनिक रोजीरोटीका लागि मजदूरी गर्ने नेपाली नागरिकको पक्षमा आफूले गम्भीर ढङ्गले छलफल गरेको उनको भनाइ छ । रासस