काठमाडौँ, १९ भदौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा प्रकाण्डलाई रिहा गर्न सर्वोच्च अदालतले सोमबार आदेश दिएको छ ।
न्यायाधीशद्वयको संयुक्तको इजलासले प्रहरीले विश्वकर्मालाई फौजदारी संहिता उलंघन गर्दै गरेको जनाउँदै तत्काल रिहा गर्न आदेश दिएको हो । अन्नपुर्णमा खबर छ सर्वोच्चले आफ्नो आदेशपछि प्रहरीले तत्कालै पक्राउ गरेकोबारेमा पनि चासो व्यक्त गर्दै यसमा सरकारलाई ध्यानाकर्षण गराएको छ ।
सात करोड भन्दा बढी रकम जबरजस्ती असुलेको अभियोगमा दक्षिणकालीबाट गत साउन २३ गते दुई कार्यकर्तासहित पक्राउ परेका विश्वकर्मालाई सर्वोच्चले पटक पटक रिहा गर्न आदेश दिइसकेको छ।
तर सर्वोच्चको आदेश कार्यान्वयन नहुँदै प्रहरीले विश्वकर्मलाई पक्राउ गर्ने गरेको छ । पक्राउ परेका प्रकाण्डलाई काठमाडौँ, काभ्रे र नुवाकोटमा लगेर विभिन्न अभियोगमा मुद्दा चलाइएको हो ।
अहिले प्रकाण्डलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटको हिरासतमा राखेको छ। त्यहाँबाट उनलाई सरकारले भोजपुर र कालिकोट लैजाने तयारी गरेको छ।