Indrenionline.com

दुई महिनादेखि सदरमुकाममै यातायात बन्द

जाजरकोट, ४ भदौ । वर्षात्सँगै खसेको पहिरो, हिलो र खाल्टाखुल्टीका कारण जाजरकोट खलङ्गा–पाँचकाटिया सडक अवरुद्ध भएको छ ।

दुई महिनादेखि यातायात अवरुद्ध हुँदा कुशे र बारेकोट गाउँपालिकाका बासिन्दालाई आवतजावतमा सास्ती भएको छ । सडक बन्द भएपछि जाजरकोट भएर डोल्पा र रुकुम जाने यात्रु तथा व्यापारीले समेत निकै कठिन भएको छ ।

सडक अवरुद्ध भएपछि कुशे र बारेकोटका बासिन्दा दुई÷तीन दिनको पैदल हिँडेर गन्तव्यमा पुग्न बाध्य छन् । त्यस्तै, उक्त सडकमा यातायातका साधन नचल्दा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको आपूर्तिमा पनि समस्या भएको छ ।

घोडा, खच्चड र भरियाको माध्यमबाट ढुवानी गरिएको खाद्यान्नको मूल्य आकासिएको स्थानीय उपभोक्ताको गुनासो छ । सडक विभाग, भेरी नगरपालिकालगायत निकायले अवरुद्ध सडकको मर्मत सुधारमा बेवास्ता गर्दा यात्रुलाई सास्ती भएको स्थानीयको गुनासो छ ।