विराटनगर, २८ साउन । सडक तथा पुल निर्माणमा ढिलाई गर्ने देशभरका डेढसयभन्दा बढी निर्माण कम्पनी कारबाहीमा परेका छन् । ती निर्माण कम्पनीलाई कारबाही गरिनुकासाथै आगामी भदौ १२ गतेसम्म काठमाडौं उपत्यका भित्रका सडक निर्माण सक्न अन्य निर्माण कम्पनीहरुलाई निर्देशन दिइसकिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विराटनगरमा सोमवार सञ्चारकर्मीहरुसँगको कुराकानीमा जानकारी दिए ।
यातायात क्षेत्रको एकाधिकार अन्त्य गर्ने र ठेकेदार कम्पनीलाई कारबाही गर्ने विषयमा गृहमन्त्रीसँग आफ्नो कुनै मनमुटाव नभएको प्रष्ट पार्दै मन्त्री महासेठले स्थानीय क्षेत्रमा निर्माण भइरहेका बाहेकका सडकलाई सुधार गरिने बताए । उनले सर्वोच्च अदालतको आदेशका कारण सडक निर्माण कार्यमा केही ढिलाइ भएको प्रष्ट पारे ।
प्रदेश सरकारले दिएको सार्वजनिक बिदा सङ्घीय सरकार अन्तर्गतका कार्यालयले नमानेको सन्दर्भमा मन्त्री महासेठले समन्वयको अभावमा त्यो कार्यान्वयन हुन नसकेको जानकारी दिँदै सार्वजनिक बिदा धेरै भई सबैतिरबाट विरोध भएकाले सङ्घीय सरकारले बिदा कटौती गरेको बताए । यस विषयमा प्रदेश सरकारले एकरूपता ल्याउन सङ्घीय सरकारसँग समन्वय गर्दा राम्रो हुने तर सङ्घीय सरकारले प्रदेशलाई कमजोर पार्नेगरी गरी कुनै पनि निर्णय नगरेको उनले चर्चा गरे । रासस