काठमाडौं, २७ साउन । डाक्टरले उपचारमा लापरबाही गरी बिरामीको मृत्यु भएमा ‘जन्मकैद’ को सजाय हुने भएको छ । यसअघि लापरबाही तरिकाले स्वास्थ्य उपचार गर्दा बिरामीको मृत्यु वा अंगभंग भएमा पाँच सय रुपैयाँ जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था थियो ।
सरकारले ल्याउन लागेको उक्त कानुनविरुद्ध चिकित्सकहरू एकढिक्का भएका छन् । नेपाल चिकित्सक संघका महासचिव डा.लोचन कार्कीले तत्काल ऐन सच्याउन सरकारसमक्ष आग्रह गरेका छन् ।
कानुन नसच्याए सेवा छाडेर घरमा बस्छौँ
सरकारले चिकित्सकलाई अपराधीझै सम्झेर कानुन ल्याएको छ । जुन कारबाही समेटिएको मुलुकी ऐन लागू हुँदै छ, त्यसले चिकित्सकको मनोबल गिराएको छ । तत्काल सुधार नगर्ने हो भने चिकित्सकले काम गर्दैनन् ।
