Indrenionline.com

सकारात्मक चिन्तनले समाजलाई सत्मार्गमा : महरा

काठमाडौं, २५ साउन । सभामुख कृष्णबहादुर महराले सकारात्मक चिन्तनमार्फत् राजनीतिज्ञले समाजलाई सत्मार्गमा लैजानुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘नेतृत्व वर्गमा राजनीतिक सद्भावका लागि सकारात्मक चिन्तन’ विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले यस्तो बताएका हुन् ।

संघीय संसद तथा प्रदेश सभाका सांसदहरु तथा राजनीतिक दलका नेताहरु सहभागी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभामुख महराले आफूले प्राप्त गरेका सकारात्मक ज्ञानलाई जीवन व्यवहारमा लागू गर्नुपर्ने बताए ।

‘‘राजनीतिज्ञहरु जड हुनुहुँदैन, सबैखाले विचारहरुलाई ग्रहण गर्नुपर्दछ ।’ उनले भने, ‘सकारात्मक चीजलाई ग्रहण गर्दै समाजमा स्थापित गर्ने र नकारात्मक पक्षलाई हटाउने आँट गर्नुपर्दछ ।’

आफू भौतिकवादमा विश्वास गर्ने व्यक्ति भएको बताउँदै सभामुख महराले अध्यात्मिक चेतनाले पनि सकारात्मक चिन्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । ईश्वरीय विश्वविद्यालयमार्फत् सकारात्मक चिन्तनपद्धतिको राम्रो विकास भइरहेको चर्चा गर्नुहुँदै सभामुख महराले राजनीतिज्ञहरुले आफूले प्राप्त गरेको ज्ञान राष्ट्र सेवामा लगाउनुपर्नेमा जोड दिए ।