काठमाडौं, २५ साउन । विशेष अदालतले गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गर्दै बिहीबार एक वर्ष कैद र १ करोड ४० लाख ५० हजारबराबरको बिगोबापतको सम्पत्ति जफतको फैसला गरेको छ ।मुद्दा दर्ता भएको पाँच वर्षपछि विशेष अदालतले लामालाई दोषी ठहर गरेको हो । हाल उनी हातहतियार खरखजाना मुद्दामा डिल्लीबजार कारागारमा छन् ।
लामा विजयकुमार गच्छादारसँगै नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । गएको प्रदेश सभा निर्वाचनमा काभ्रेबाट उनी उम्मेदवार पनि भएका थिए । यस्तै, सम्पत्ति शुद्धिकरण मुद्दामा विशेष अदातलले मनाङबाट प्रदेशसभामा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) लाई सफाइ दिएको थियो । सीआईबी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा मनाङेको नाममा १४ करोडभन्दा बढीको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको देखिएको दाबी गरिएको थियो । राजधानीमा खबर छ तर, विशेषले त्यसलाई पुष्टि गर्ने आधार नै नभएको भन्दै ५ भदौ २०७४ मा सफाइ दिने फैसला सुनाएको हो ।
यसैगरी, मिलन गुरुङ (चक्रे) ले समेत सो मुद्दामा सफाइ पाएका थिए । चक्रेले ८ करोड रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको दाबी विभागको थियो ।
उनीमाथि काठमाडौंमा सात आना जग्गा र परिवारका नाममा काठमाडौं र गोरखामा करिब ३० रोपनी जग्गा गरी ७ करोड अवैध सम्पत्ति रहेको दाबी गरिएको थियो । उनलाई विशेषले १० माघमा सफाइ दिएको हो ।