काठमाडौं, २४ साउन । अपहरणपछि हत्या गरिएका काठमाडौं, काँडाघारीका निशान खड्काको घाँटीभित्र एकमिटर लामो रुमाल (कपडा) जबरजस्ती घुसाएर निर्मम ढङ्गले हत्या भएको ‘पोस्टमार्टम’ रिपोर्टमा उल्लेख छ ।
ती चिकित्सकले पोस्टमार्टम रिपोर्ट बुधवार नै प्रहरीलाई बुझाइसकेको बताए । सो रिपोर्टमा बालक निशानको हत्या आइतवार राति ८ः३० बजेदेखि १० बजे सम्मको बीचमा भइसकेको हुन सक्ने उल्लेख छ । गोरखापत्रमा खबर छ- निशानका शव विहीवार विहान आफन्तको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । बैदेशिक रोजगारको सिलसिलामा गत फागुनमा मलेसिया पुगेका निशानका बुबा विहीवार विहान नेपाल आइपुग्दै हुनुहुन्छ ।
सिन्धुपाल्चोक घरभइ हाल काँडाघारी बस्दै आएका निशान हाईल्याण्ड स्कुलमा कक्षा–६ मा अध्ययरत थिए । आमा र दुई दिदीवहिनीका साथ बस्दै आएका निशानको शव सोमवार ठिमी नगदेशस्थित श्याम लवटको निर्माणाधीन घरमा गाडेको अवस्थामा फेला परेको थियो ।
निशानको आइतवार साँझ काँडाघारीबाट अपहरण भएको थियो । निशानको अपहरणपछि हत्या घटनामा संलग्न रहेको अभियोगमा गोपाल तामाङ र अजय तामाङको प्रहरीसँगको ‘‘मुठभेड’ मा सोमवार दिउँसो सूर्य विनायकमा मृत्युभएको थियो ।
अपहरण र हत्यामा संलग्न गोपाल निशानकी आमाले सञ्चालन गरेको खाजाघरका नियमित ग्राहक थिए । गोपालले निशानलाई दिउँसो मोबाइल फोन किनिदिएका थिए र साँझ ७ वजे बच्चालाई सँगै आफ्नो कोठामा लिएर गएका थिए । सोही घरमा भाडामा बस्दै आएका प्रत्यक्षदर्शीका अनुसार, उनीहरू बच्चासँग गफिदै कोठाभित्र छिरेका थिए ।
तर अपहरणपछि हत्या भएको घटना भने उनीहरूले भोलिपल्ट दिउँसोमात्र जानकारी पाएका थिए । घरमा रङ्ग लगाउने काम गर्छु भन्थे, अरु कुरा त केही थाहै भएन घरधनी श्याम लवटले भने।
मानवअधिकार आयोगमा उजुरी
‘‘मुठभेड’ का नाममा निर्दोषलाई मारेको भन्दै अजय र गोपालका आफन्तहरू राष्ट्रिय मानवअधिकार आयोग गुहार्न पुगेका छन् । अजयका दाई सोनाम तामाङ र गोपालकी आमाले आफ्नो भाइ÷छोरा निर्दोष रहेको भन्दै मानवअधिकार आयोगमा निवेदन दर्ता गराएका छन् ।
निशानको निर्मम हत्यामा संलग्न रहेको भनिएका अजय र गोपाललाई ‘मुठभेड’ मा मारिएको भन्दै प्रहरीले जवरजस्ती गाडीमा राखेर एकान्तस्थानमा लगेर मारेको आरोप उनीहरूको छ । तर, निशानका मामा रामकाजी सापकोटा भने भान्जाको निर्मम हत्यामा संलग्नलाई मारिएका प्रति खुशी हुनुहुन्छ ।
हामीलाई गोपालले नै लिएर गयो कि भन्ने शङ्का राति नै थियो, तर परिचित ब्यक्तिले त्यस्तो त गर्दैन होला भन्ने विश्वास लाग्यो । तर, तिनै पापी दुष्टले मारेका रहेछन् । सोही घरमा भाडामा बस्नेहरूबाट थाहा भयो– उनले भने ।
अनुसन्धानमा घरभेटीको असहयोग
महानगरीय प्रहरी अपराध महाशाखाले मुटभेडमा मारिएका गोपालको बा–आमा, अजयका दाइ सोनम र घरधनी श्याम लवटलाई पनि निशान हत्या घटनाको मतियारका रुपमा राखेको छ । हत्या घटनालाई ढाकछोप गरी अपराधलाई प्रोत्साहन गर्न खोजेको भन्दै उनीहरूलाई मतियारको रुपमा राख्ने तयारी गरेको हो ।
त्यस्तैं, विहान अपहरणकारी बस्ने कोठा तथा निशानलाई मारिएको घटनास्थल ‘सिल एण्ड सर्च’ गर्न खोज्दा घरवेटीले असहयोग गरेको आरोप प्रहरीको छ । साँझ नै बच्चा लिएर कोठामा गएका ती ब्यक्तिलाई घरवेटी लवटले संरक्षण हुने गरी वयान दिएका थिए ।
कोठामा बच्चा चिच्याँउदा पनि बेवास्ता गर्नु पनि अपराधलाई प्रोत्साहन गरे जस्तै हो, महाशाखाका प्रमुख धिरजप्रताप सिंहले भने, अपहरणकारीहरू प्रहरीसँगको मुटभेडमा मारिएसँगै अन्य अपराधका घटनामा नियन्त्रण आउने अपेक्षा गरेका छौं ।