काठमाडौँ, १८ साउन । सरकारले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभाको उपनिर्वाचन गराउने तयारी सुरु गरेको छ । यसै विषयलाई लिएर प्रधानमन्त्री के।पी। शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा छलफल गरे ।
प्रधानमन्त्री ओलीसँग निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवसहितका आयोगका पदाधिकारीले उपनिर्वाचन गर्ने विषयमा छलफल गरेको आयोगका प्रवक्ता दीपक सुवेदीले बताए ।
भेटमा आयुक्तहरूले स्थानीय तहमा जिल्ला समन्वय समितिका पदाधिकारी, वडा अध्यक्ष र वडा सदस्यको पद रिक्त हुन गएका तर स्थानीय तह निर्वाचन ऐन, २०७३ मा ती पदमा उपनिर्वाचन गर्नेसम्बन्धी प्रावधान नभएकाले ऐन यथासक्य छिटो संशोधन गर्नुपर्ने धारणा राखेका थिए ।
प्रधानमन्त्रीसमक्ष प्रमुख निर्वाचन आयुक्त डा. यादवले २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभा, राष्ट्रिय सभा, उपराष्ट्रपति र राष्ट्रपति पदको निर्वाचनको निर्वाचन परिणामसम्बन्धी पुस्तक पनि हस्तान्तरण गरे ।
स्थानीय तहमा २०७ पद रिक्त
निर्वाचन आयोगका अनुसार, जम्मा ७७ जिल्लामध्ये १९ जिल्लाका नगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य गरी कुल २०७ पदमा उपनिर्वाचन गराउनुपर्ने छ । २०७४ सालको स्थानीय तह निर्वाचनको क्रममा उम्मेदवारी नै नपरेका कारण १८० पद रिक्त थिए ।
त्यसमा दलित महिला १७५ जना र सोलुखुम्बु जिल्लाको नेचा सल्यान गाउँपालिकाको वडा नं. ६ तिङ्लामा कुनै पनि उम्मेदवारले उम्मेदवारी नदिएका कारण सबै पाँच पद रिक्त थिए । स्थानीयवासीको माग अनुसार सो वडा हाल सोलु दूधकुण्ड नगरपालिका वडा नं। ११ कायम भएकाले अब त्यहाँ निर्वाचनको वातावरण बनेको छ ।
बुढालाई राजीनामा दिन दबाब
डोल्पा जिल्लाको क्षेत्र नं। १ बाट निर्वाचित धनबहादुर बुढालाई राजिनामा दिन लगाएर सो निर्वाचन क्षेत्र खाली गराउने प्रयास भइरहेको छ । सो क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमलाई प्रतिनिधिसभाको सदस्यमा उम्मेदवार बनाउने भित्री कसरत भइरहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीसमेत रहनुभएका बूढासँग डोल्पा क्षेत्र नं। १ बाट राजीनामा दिन लाग्नुभएको हो भनी राखिएको जिज्ञासामा उनले ‘राजीनामा दिने वा नदिने कुनै धारणा राखेनन् ।’ उनले भने, ‘‘म अहिले मन्त्रालयमै छलफलमा छु, भोलि मन्त्रालयमा आउनुहोस्, त्यहीँ कुराकानी गरौंला ।’’ गोरखापत्रबाट