काठमाडौं, १७ साउन । संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे बुधबार पनि निर्णय गर्न सकेन । अर्को बैठक शुक्रबारलाई बोलाइएको समिति सदस्य योगेश भट्टराईले जानकारी दिए । १० गते नै सुनुवाइ गरे पनि समितिले अझै निर्णय लिन सकेको छैन । सुनुवाइ भएयता दुईवटा बैठक बस्दै नबसी स्थगित भए भने सोमबार र बुधबारसहित तीन बैठक बसे पनि जोशीबारे कुनै निर्णय हुन सकेन ।
सहमतिमै निर्णयमा पुग्नका लागि समय माग भएकाले बैठक स्थगित गरिएको सांसद भट्टराईले बताए । अर्को बैठकबाट भने निर्णयमा पुगिने उनले बताए । राजधानीमा खबर छ- सामान्यतया सुनुवाइ समितिले सुनुवाइ समाप्त भएकै दिन त्यसबारे निर्णय गर्ने परम्परा थियो । सुनुवाइको क्रममा जोशीको शैक्षिक प्रमाणपत्र, फैसला र उनका इजलासले गरेका आदेशमा देखिएका विवादका विषयमा उजुरी दर्ता भएका थिए । उजुरीका आधारमा समितिका सदस्यहरूले उनलाई प्रश्नसमेत सोधेका थिए ।
नेकपा सांसद भट्टराईका अनुसार समितिको बैठकमा कांग्रेस सांसदले पार्टीभित्र आन्तरिक छलफलपछि मात्र निर्णय लिने अडान लिएपछि बैठक सरेको हो ।
सांसद पाललाई धम्की
प्रधानन्यायाधीशको अनुमोदनको विषयलाई लिएर नेकपाकी सांसद निरुदेवी पाललाई पेस्तोल देखाएर अज्ञात व्यक्तिले धम्क्याएको खुलेको छ । उनले सुरक्षा माग गर्दै बुधबार संसद्मा निवेदन दिएकी छन् । सभामुखलाई समेत उनले लिखित रूपमा यसबारे जानकारी गराएकी छन् ।
मंगलबार साँझ पसलमा निस्कने क्रममा एक व्यक्तिले संसदीय समितिको बैठकमा नजान भन्दै धम्क्याएको उनको उजुरीमा उल्लेख छ । लगत्तै उनको सुरक्षामा पीएसओ खटाइएको थियो । उनीसहित समितिमा रहेका अधिकांश सांसदहरूले सुरक्षा थ्रेटका आधारमा पीएसओ लिएका छन् ।
उनलाई राति बानेश्वरमा एक जना अपरिचित व्यक्तिले पेस्तोल ताक्दै बुधबारको बैठकमा सहभागी भए मारिदिने धम्की दिएका हुन् । ‘राति साढे आठ बजेतिर म पसलमा दूध लिन जाँदा एक जनाले ममाथि पेस्तोल ताक्यो र भन्यो– भोलिको बैठकमा गइस् भने तेरो बाउले पनि बचाउन सक्दैन,’ समिति बैठकमा आफूमाथि आएको धम्कीबारे उनले भनिन्, ‘उसले मेरो मोबाइल पनि लुटेर लगेर गयो ।’