काठमाडौंँ, १६ साउन । पछिल्लो समयमा पत्रकारितालाई वदनाम गर्नेहरुको संख्या वढ्दै गएको छ । यस्तै दुषसास धनुषाका एक व्यक्तिले गरेका छन् । मोटरसाइकलको पछाडि भागमा प्रेस लेखेर लागूऔषध ओसारपसार तथा कारोवार गरिरहेको अवस्थामा धनुषा गणेशमान नगरपालिका वडा नम्बर–४ घरभई हाल सिनामङ्गल बस्ने ३१ वर्षीय राजकुमार चौधरी पक्राउ परेका छन् ।
प्रेस लेखिएको ज ७ प १४०७ नम्बरको मोटरसाइकल नजिकै पार्किङ गरी हेल्मेट समेत नखोली ग्राहक कुरिरहेको अवस्थामा विशेष सुराकीका आधारमा सादा पोशाकमा खटेको प्रहरी टोली उनलाई पक्राउ गर्न सफल भएको हो ।
नेपाल–भारतको सीमा नजिकबाट लागूऔषध खरिद गरी काठमाडौंँमा विक्री वितरण गर्न सक्रिय चौधरीको पक्राउपछि लागूऔषध खरिद गर्न आएका वसन्तपुर बस्ने ३२ वर्षीय मोहम्द साहिदलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
वृत्त जनसेवाका प्रमुख प्रहरी नायव उपरीक्षक टेकुनन्द लिम्बुका अनुसार अभियुक्त चौधरीले प्रेस लेखिएको मोटरसाइकल प्रयोग गरी भारतबाट लागूऔषध खरिद गरी सिधै काठमाडौँसम्म पु¥याइ विक्री वितरण गर्ने गरेको पाइएको छ ।
मोटरसाइकलमा प्रेस लेखिएका कारण सुरक्षाकर्मीले समेत उनलाई सुरक्षाजाँच गर्ने नगरेको पाइएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार अभियुक्त चौधरीले झोलामा राखिएको लागूऔषध लिन साहिदलाई उक्त स्थानमा बोलाएका थिए ।
उनको साथबाट २५ हजार रुपियाँ नगदका साथै ग्लोबल आइएमइबाट असार १७ गतेदेखि साउन १३ गतेसम्म गरी करिब चारलाख रुपियाँ घरमा पठाएको प्रमाणहरू बरामद भएका छन् ।