Indrenionline.com

स्वाथ्य र शिक्षामा देखिएको विकृति अन्त्य गर्न दृढ छौं : श्रेष्ठ

राजेन्द्र न्यौपाने
गोरखा, ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले नेपालको स्वास्थ्य र शिक्षामा देखिएको विकृति अन्त्य गर्न दृढ रहेको बताएका छन् ।

प्रेस सेन्टर गोरखा र प्रेस चौतारी गोरखाले आज गोरखामा गरेको संयुक्त पत्रकार सम्मेलनमा श्रेष्ठले भने “स्वास्थ्य र शिक्षालाई राष्ट्रियकरण गर्यो भने तिनै मानिसहरु संविधानको उलंघन गर्यो, सरकार नीजिकरणका विरुद्ध लाग्यो, अधिनायकवाद भनेको यही हो भन्छन् त्यसैले सरकार नवउदारीकरणको नीतिले नेपालको शिक्षा र स्वास्थ्यमा देखिने विकृतिलाई समाधान गर्न दृढ छौं । ”

राजनीतिक स्थायित्व लिएर सरकार अगाडि बढीरहेको बेला अव देशमा विकास र समृद्धि हुने भयो भनेर विकास विरोधीहरु आत्तिएको उनले बताए । अनसनरत डा. गोविन्द केसीले भनेका कुरा गर्नुहुँदैन वा उहाँले भनेका सबै कुरा पूरा गर्नुपर्छ भन्ने भन्दा पनि ऐन, नियम , संविधानले व्यवस्था गरे अनुसार हुने उनले बताए ।

केसीले उठाएका मुद्धाहरुलाई विना पूर्वाग्रह छलफल गर्ने उनको भनाई छ । केसीलाई कसैले आफ्नो राजनीतिक अभिष्ठा पूरा गर्न, पाप पखाल्न प्रयोग गरिरहेको प्रति दुःख लागेको बताए ।