Indrenionline.com

सेल्फी उपन्यासले निराशमनमा उत्साह थप्नेछ

उपन्यासकार, सविन प्रियासन

पत्रकार सविन प्रियासन उपन्यासकारका?पमा पनि परिचित छन् । पत्रकारिता क्षेत्रमा केन्द्रीय स्तरमै राम्रो हैसियत बनाएका प्रियासनले पाँच वटा उपन्यास प्रकाशित गरि सकेका छन् । उनले एउटा कथा संग्रह र एउटा सम्पादकीयको संग्रह पनि प्रकाशित गरेका छन् । प्रियासनको पछिल्लो प्रकाशन सहनशीला उपन्यास हो । जसलाई ब्रदर बुक्स प्रालि काठमाडौले बजारमा ल्याएको छ । प्रियासनले एकपछि अर्को उपन्यास प्रकाशन गर्नेक्रममा अब लगत्तै सेल्फी उपन्यास निकाल्ने तयारीमा जुटेका छन् । इन्डिगो प्रकाशन काठमाडौंले सेल्फीलाई बजारमा ल्याउने जमर्को गर्दैछ । प्रस्तुत छ उपन्यासकार सविन प्रियासनसँग यी र यावत विषयमा हामीले गरेको कुराकानीको सारसंक्षप । (सम्पादक)

– सेल्फी उपन्यास कसको कथा हो ?

संघर्ष गर्न नथाक्ने, दुःख–कष्टसँग पैठेजोरी गर्दै जिन्दगी आबाद बनाउने, गल्ती कमजोरी गरेपछि महसुस गर्ने, प्रेमको अर्थ अनि भावलाई गहिराईबाट बुझ्ने, समस्याह?लाई पन्छाउँदै सफलताको सिढी उक्लनेहरुको कथा हो सेल्फी उपन्यास ।

– सेल्फी उपन्यासले मुख्य के सन्देश दिन खोजेको छ ?

सेल्फी उपन्यासले मानिसलाई सकारात्मक चेतसहित अगाडि बढ्नुपर्छ, कहिल्यै निराशाको भुमरीमा पिल्सनु हुँदैन, जिन्दगीमा आत्मनिर्भर भएर बाँच्नुपर्छ भन्ने सन्देश दिएको छ ।

– सेल्फी उपन्यास वास्तविक कथा वस्तुमा आधारित छ भन्ने सुनिन्छ नि  ?

हो सहनशीला उपन्यास संघर्षमय जीवन व्यतित गरिरहेको एक घरपरिवारको कथा हो । त्यसमा पनि एक युवती, जो बेहद राम्री छिन् । तर उनको शरीरको कुनै भाग अलि कमजोर छ । शरीर कमजोर हुँदैमा जिन्दगी सकिदैन, दृढ इच्छा शक्ति हुने हो भने प्रगति गर्न सकिन्छ भन्ने मान्यता राख्ने युवती अनि उनको घरपरिवारको कथा यसमा समावेश छ । यही सन्देश उपन्यासमा मैले देखाउन खोजेको छु । उपन्यासको आधा जति सत्य घटनामा आधारित छ । आधा काल्पनिक छ ।

– सेल्फी शव्द यतिबेला अत्यधिक चर्चामा छ । किन उपन्यासको नाम सेल्फी राख्नुभयो ?

हो यहाँले भने झैं सेल्फी शव्द अहिले पनि सबैको ओँठओँठमा झुण्डिएको छ । हामीले मोबाइलबाट अगाडीको क्यामराले आफ्नो फोटो आफै खिच्नेलाई सेल्फी भन्ने बुझ्छौं । तर सेल्फीमा ठूलो दर्शन रहेछ । जिन्दगी सफल बनाउने उपाए सेल्फी शव्दमा रहेछ । जुन कुरा मैले उपन्यास लैख्नेक्रममा मनन् गरे । जसरी हामी फोटोमा सेल्फीका कारण आत्मनिर्भर भएका छौं, त्यसैगरी जिन्दगी सफल बनाउनका लागि आत्मनिर्भर हुनैपर्छ भन्ने कुरा सेल्फी उपन्यासमा दिन खोजेको छु । त्यसैले सेल्फी नाम राख्दा क्याची अनि राम्रो हुनेछ भन्ने लागेकाले उपन्यासको नाम सेल्फी राखेको हुँ ।

– धेरैवर्ष पछि साहित्यमा फर्कनु भयो । तर फर्किएपछि वर्षमा दुईतीन वटा उपन्यास निकाल्न थाल्नु भयो नि ?

हो यहाँले भने झै मेरो साहित्यमा पुनरागमन भएको हो । पुनरागमन उपन्यास लिएर साहित्यमा फर्किएको थिए । अहिले पल्लवी हुँदै सहनशीला उपन्यास निकालेको छु । अब लगत्तै सेल्फी उपन्यास पनि निकाल्ने तयारीमा छु ।

– नायिका नम्रता श्रेष्ठको बारेमा लेखिएको नोभेल नम्रता अहिलेसम्म बजारमा आएन नि ?

नोभेल नम्रता पनि तयार नै छ । नायीका नम्रता श्रेष्ठले मैले लेखेको बाहेक केही कुराहरु थप्छु, त्यसपछि निकालौला भन्नु भएको थियो । संयोग त्यसै भन्नुपर्छ, उहाँ र मेरो भेट हुन सकेको छैन । म दाङमा व्यस्त छु । उहाँ काठमाडौमा । त्यसैले नोभेल नम्रता निकाल्न पाएको छैन ।

– अब कुन उपन्यास निकाल्ने तयारी गरिरहनु भएको छ ?

अब सेल्फीपछि ब्रेकअप डायरी त्यसपछि पल्लवी भाग दुई निकाल्ने तयारीमा छु ।

– तपाई पत्रकारितामा पनि अत्यन्त क्रियाशिल हुनुहुन्छ ? कतिबेला साहित्य सिर्जना गर्न भ्याउनु हुन्छ ?

सबै भन्दा ठूलो कुरा समय व्यवस्थापन हो । पत्रकारिता मेरो पेशा हो । साहित्य मेरो रुची । त्यसैले दुबै कुरालाई साथसाथै अगाडि बढाएको छु ।

– पुस्तकहरु निस्कन्छन्, तर पाठक भेटिदैनन् । यसमा यहाँको भनाइ के छ ?

यसमा विभिन्न कारणहरु छन् । यस मध्य पाठकहरुको मनमा स्थान बनाउने किसिमका पुस्तकहरु ननिस्किएकै कारणले पाठकहरु नभेटिएका होलान । तर पनि केही पुस्तकहरु पाठकहरुको अत्यधिक रोजाईमा परेका छन् ।

– यहाँले प्रकाशित गरेका सहनशीला, पल्लवी उपन्यास विमोचन भएकै केही दिनमा राम्रो बजार लिएको सुनियो । हजुरले लेखेको उपन्यासहरु राम्रो भएर हो कि, प्रकाशक संस्था वा तपाईको व्यक्तित्वका कारणले बजार ओगटेको हो ?

उपन्यास राम्रो नराम्रो छुट्याउने काम पाठक हो । जहाँसम्म बजारमा आएको केही दिनमै राम्रो प्रतिक्रिया आएको थियो भन्ने कुराको पछाडि सबै कुराले काम गरेको छ । जसले गर्दा त्यति बिक्री हुनु स्वाभाविक छ ।

– अन्तमा केही भन्नु छ कि ?

समय गतिशिल छ । जीवनको महत्वलाई बुझेर गतिशिल समयभित्र समाज अनि देशको समृद्धिका लागि आ–आफ्नो क्षेत्रमा भूमिका खेलौ । सबैलाई यही भन्न चाहन्छु ।