रुकुम, ४ साउन। तत्कालीन विद्रोही नेकपा माओवादीले सञ्चालन गरेको जनवादी विद्यालयमा सरकारी सहयोग पुग्न सकेको छैन । जनयुद्धताका माओवादी कार्यकर्ता, ‘जनसेना’ र शहीद परिवारका छोराछोरीलाई पढाउन स्थापना भएको वासु क्षितिज नमूना निम्न माध्यमिक विद्यालय मापदण्डअनुसार सञ्चालित भए पनि सरकारी सेवासुविधा नपुगेको गुनासो स्थानीयले गरेका छन् ।
विद्यालयमा भौतिक पूर्वाधारसमेत जीर्ण बन्दै गएको व्यवस्थापन समितिका अध्यक्ष भानुदेव रोकायाले गुनासो गरे । विद्यालयमा १ सय ५२ जना विद्यार्थी पढ्छन् । २०६१ सालमा स्थापित वासु स्मृति जनवादी विद्यालय भुमे २०६८ सालमा सरकारी स्वीकृति पाएर सरकारी पाठ्यक्रमअनुसार पढाइ हुने गरेको हो ।
द्वन्द्वताका यस विद्यालयमा ‘क’ बाट कमरेड, ‘ख’ बाट खतरा ‘ग’ गण, ‘छ’ बाट छापामार, ‘क्ष’ क्षेप्यास्त्र जस्ता युद्धमा प्रयोग हुने शव्दवालीको पढाइ हुने गरेको थियो । त्यस्तै अङ्ग्रेजीमा ‘ए’ फर आर्मी, ‘बी’ फर बलाष्ट, ‘सी’ फर कमब्याट, ‘जी’ फर गण, ‘आर’ फर राइफलजस्ता अङ्ग्रेजी शब्दवाली पनि आजभोली पढाई हुँदैन ।
अहिले यस विद्यालयमा अन्य सरकारी विद्यालय जस्तै कपुरी ‘क’ खरायो ‘ख’ गमला ‘ग’ र अङग्रेजीमा पनि ‘ए’ फर एप्पल, ‘बी’ फर बल र ‘सी’ फर क्याट नै पढाइ हुने गरेको छ । तर, अहिले द्वन्द्वपीडित, शहीद वेपत्ता, घाइते अपाङ्गका छोरा छोरीहरू पनि अन्य बालबालिकाजस्तै सरकारी पाठ्यक्रमअनुसार रमाइ–रमाई पढ्न थालेका छन् । उनले भने, ‘युद्ध र द्वन्द्वका कुराले बाल मस्तिष्कमा असर गर्ने भएकाले द्वन्द्वभन्दा शान्ति र मेलमिलापसम्बन्धी पढाइलाई प्राथमिकता दिएका हौं ।’