नुवाकोट, ३ साउन । अविरल वर्षाका कारण आएको पहिरोले सूर्यगढी गाउँपालिका–३ चोकदेमा घर पुरिदा एकै घरका चार जना घाइते भएका छन् ।
घाइतेहरूलाई स्थानीय प्रहरीले उद्धार गरेर विदुरको सिटी अस्पतालमा उपचारका लागि लगेकामा अहिले उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
घरमा किराना पसल र घरसँगै रहेको गोठमा १३ वटा बाख्रा, कुखुरा मर्नुका साथै घरभित्र रहेको सरसामग्री नष्ट भएको छ । प्रहरीले रु ६० लाख बराबरको क्षति भएको अनुमान गरेको छ ।
यस्तै गए रातिको वर्षाकै कारण यहाँको तादी गाउँपालिका–५ बञ्चरेमा दुईवटा घर तथागोठ र खानेपानीको ट्याङ्की पहिरोले पुरेको छ । पहिरोका कारण अन्य ११ घर जोखिममा परेको छ ।
बञ्चरेका वीरबहादुर तामाङ स्याङतानको घर तथा गोठ पहिरोले पुर्दा भित्र रहेको बाख्रा सात, कुखुरा १० वटा र अन्नपात लत्ताकपडा गरी रु १५ लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।