दोलखा, २ साउन । भूकम्पले भवन भत्काइदिएपछि टहरामा सरेका विद्यार्थीका लागि ९० लाखको भवन बन्यो । तर, विद्यार्थी टहरामै छन् । किनकि, व्यवस्थापन समिति र प्रधानाध्यापकले भवन भाडामा लगाएका छन् । सुविधासम्पन्न भवनमा मासिक १५ हजार तिरेर सानिमा बैंकले शाखा खोलेको छ, विद्यार्थीले चुहिने टहरामै कक्षा लिइरहेका छन् ।
सोमबार छाप्रोमा विद्यार्थी पढिरहँदा बैंकले पक्की भवनमा भव्य समारोहबीच कार्यालय उद्घाटन ग(यो । गाउँपालिका प्रमुख नरबहादुर श्रेष्ठ, उपप्रमुख कल्पना भण्डारी र वडाध्यक्ष छत्रबहादुर तामाङ कार्यक्रममा अतिथि थिए । तर, उनीहरूले विद्यार्थीको पक्षमा एक शब्द पनि बोलेनन् ।
स्थानीय अभिभावक तथा वडासदस्य नवीनकुमार गोलेका अनुसार वर्षामा टहरो चुहिएर कक्षा कोठा हिलाम्य हुन्छ । ‘बालबालिकाको अधिकारै हनन् हुने गरी विद्यालय प्रशासन र व्यवस्थापन समितिले मनोमानी गरे, शैक्षिक संस्था सेवामुखी हुनुपर्नेमा नाफामुखी हुन खोज्यो,’ उनले भने, ‘यसका विरुद्ध गाउँसभामा प्रस्ताव नै लैजान्छु ।’
शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठले पुनर्निर्माण गरिएको विद्यालय भवन भाडामा लगाउन नमिल्ने स्पष्ट पारे । तर, मेलुङमा त्यस्तो भएको विषयमा आपूmलाई जानकारी नभएको बताए । नयाँ पत्रिकाबाट