सल्यान, १ साउन । सल्यानमा बाढीपहिरोको जोखीम बढ्दै गएको छ । वर्षायाम शुरू भएसँगै भिरालो जमीन र अव्यवस्थित बसोवासले बाढीपहिरोको जोखीम बढेको हो ।
स्थानीय सरकार आएकाले यसपटक जिल्लाका १० ओटै स्थानीय तहले विपद् व्यवस्थापनको पूर्वतयारी गरेका छन् । बजेट नै छुट्ट्याएर जोखीम व्यवस्थापनको तयारी गरिएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले बताए ।
यस्तै, शारदा नगरपालिकाले विपद् व्यवस्थापन कोष खडा गरेको छ । विपद्को बेला आवश्यक पर्ने औजार उपकरणसमेत खरीद गर्न शुरू गरिएको नगरपालिका प्रमुख सुरेश अधिकारीले जानकारी दिए ।
बाढीपहिरोका कारण जिल्लामा ठूलो मात्रामा धनजनको क्षति हुने गरेको छ । अविरल वर्षाले ८० घरमा क्षति हुँदा १५ करोड ९ लाख, पहिरोले २१ घरमा क्षति हुँदा ४८ लाख ११ हजार र बाढीले ४८ घरपरिवारको जग्गामा क्षति हँुदा रू। १४ करोड ४ लाखबराबरको क्षति भएको बताइएको छ ।
