काठमाडौँ, ३२ असार । बहुद्देश्यीय आयोजनाको रुपमा रहेको भेरी बबई डाइभर्सनको सुरुङ खन्ने काम आधा सकिएको छ । भेरी नदीको पानी बबईमा ल्याउन १२ किलोमिटर दुई सय मिटर सुरुङ खन्नुपर्नेमा आधा काम सम्पन्न भएको आयोजना प्रमुख शिवकुमार बस्नेतले जानकारी दिए
प्रमुख बस्नेतले भने, आजसम्म पाँच किलोमिटर छ मिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ । तीन÷चार दिनदेखि टीबीमएम नियमित मर्मत सम्भारको क्रममा रहेको छ । अब एक/दुई दिनको मर्मतपछि काम सुरु हुन्छ ।
आयोजनाको कुल सुरुङको लम्बाइ १२ किलोमिटर दुई सय मिटर हो । आधा जति सुरुङ खन्न सफलता मिलेपछि अब खासै गाह्रो नहुने तर्क आयोजनाका अधिकारीको रहेको छ ।
राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा राम्रो र उत्कृष्ट काम भएकाले सरकारले आगामी वर्षको आयोजनालाई चाहिने जति बजेट व्यवस्था गरेको छ । आगामी वर्ष रकमका अभाव नहुने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सञ्जय शर्माले बताउनुभयो ।
चालू आर्थिक वर्षको बजेट वक्तव्यमा जम्मा ८० करोड रुपियाँ मात्र विनियोजन गरिएको थियो तर आयोजनाको कार्य प्रगति हेरेर नै अर्थ मन्त्रालयले हालसम्म झण्डै चार अर्ब रुपियाँको व्यवस्थापन गरिसकेको छ ।