काठमाडौँ, २८ असार। आगामी तीन दिनसम्म देशभरि नै बद्ली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशभरि नै बद्ली रही मध्य र पश्चिमका अधिकांश स्थानमा र पूर्वका केही स्थानमा मध्यम खालको वर्षाको सम्भावना छ भने साँझ र राति पनि देशभरि नै बद्ली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशको मध्य र पश्चिमी भूभागका केही स्थानमा र पूर्वका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
असार ३० गते (शनिबार) पनि देशभरि नै बद्ली रही देशको मध्य र पश्चिमी भू–भागका धेरै स्थान र पूर्वका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ भने शनिबार साँझ र राति पनि देशभरि नै बद्ली रही केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने तथा एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विज्ञप्तिमा जनाइएको छ ।
बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा भारी वर्षा भएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा सबैभन्दा बढी ९३ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । मौसमविद् कँडेलका अनुसार काठमाडौंमा यो भारी वर्षा हो । यसअघि सन् २००२ जुलाई २३ मा काठमाडौँमा १७७ मिलिमिटर वर्षा भएको थियो । भक्तपुरमा धेरै वर्षा भए पनि महाशाखाले उपत्यकामा काठमाडौँको मात्र वर्षा रेकर्ड राख्ने गरेको छ ।