दिपक बोहरा
दाङ २७ असार । यो असार महिनाको अन्तिम हप्ता हो । आकाश गड्किरहेको छ । कतिबेला झरी पर्र्छ, अनी रोपाईका लागि तयारी गरौंला । यही सोचाईमा थिए । तुलसीपुर ७ हरिबगियाका किसान मोहन चौधरी । साहुको जग्गा अधिया लगाएर गुजारा गरिरहेका चौधरी काँधमा फरुवा बोकर सुख्खा खेत तिर लागे । तर ठुलो झरी पर्ने कुनै संकेत देखिएन् । आकाशतिर हेरेर झरी कहिले पर्ला अनि धान रोपौला भन्ने चिन्ता छ उनमा । किनकी उनको रोजिरोटी त्यही खेतीपाती हो ।
ब्याड राखेको खेतको डिलमा बसेर आकाशतिर हेर्दै गर्दा चौधरीको शरीरबाट बगेको पसीना ब्याडमा चुहिरहेको थियो । तपतप बगिरहेको पसिना नै आकाशतिर मुख फर्काईरहेको ब्याडको लागि सिंचाई थियो । आकासबाट समयमै बर्षा भएको छैन् । समयमा बर्षा नभएपछि किसानरुले ढिला गरि ब्याड राखे, तर त्यही ब्याडले पनि सिंचाई पाउन सकेको छैन् । असार महिना सकिन लाग्यो । रोपाई कहिल गर्ने कुनै ठेगान छैन् । जुनदिन आकासबाट खोला बग्ने पानी पर्छ, त्यही दिननै रोपाई हुन्छ् । तर कहिले आकाशबाट पानी पर्ने हो, त्यो भने निश्चित छैन् । ‘आकाशको फल, आँखातरी मर’ भनेझै भएको छ, किसानहरुलाई ।
यस्तै पिरलो छ, तुलसीपुर ३ का एकराज रानाको पनि । उनका दिन पनि हिजो आज खेतमै बितिरहेका छन् । रोपाईका लागि राखिएको ब्याड पहेँलो हुन थालिसक्यो तर रोपाई हुन सकेको छैन् । गत बर्ष असारको पहिलो हप्ता रोपाई गरिसकेका राना अहिले भने आकाशबाट कतिबेला पानी पर्ला र रोपाई गरौंला भन्ने आशामा छन् ।
त्यस्तै तुलसीपुर ३ कै रामचन्द्र भट्टराईले आफ्नो खेत रोप्न ५ दिन लाग्यो । कुलोमा प्रसस्त पानी नभएपछि उनले किस्ता किस्तामा रोपाई गरे । एकै दिनमा सबै खेत रोपाई गर्न नसकिएपछि उनले आधा आधा गरेर खेत रोपाई गरे । त्यो गर्दा उनको पाँच दिनमा रोपाई सकियो । बिगतका बर्षहरुमा असार महिनाभित्र दाङमा ५० प्रतिसत रोपाई सकिएको हुन्थ्यो ।
तर यस बर्ष ३७ प्रतिसत मात्रै रोपाई भएको छ । दाङमा ३९ हजार हेक्टर क्षेत्रफल जमिन धान उत्पादनका लागि उपयुक्त छ । तर गत बर्ष ३७ हजार ७ सय १० हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाई भएको थियो । उक्त क्षेत्रफल मध्य ३० हजार हेक्टर क्षेत्रफलमा रहेका खेतहरुमा आकासे पानीको भरमा रोपाई गरिन्छ । देउखुरी क्षेत्रमा मात्रै केही सिंचाईको सुबिधा भएपनि त्यो बाहेक अन्य क्षेत्रमा आकासे पानीको भरमा खेती गर्नुपर्ने अबस्था रहेको जिल्ला कृषि बिकास कार्यालय दाङका योजना अधिकृत तिलक केसीले बताए ।
‘दाङको देउखुरी क्षेत्रमा मात्रै सिंचाईको त्यति समस्या छैन्’ उनले भने‘अन्य क्षेत्रमा भने सिंचाईको समस्या उस्तै छ ।’ यसबर्ष असारको अन्तिम सम्म पनि मनसुन सक्रिय नहुँदा किसानहरु चिन्तित बनेका छन् । ‘गत बर्ष असारको पहिलो हप्तानै रोपाई गरि सकिन्थ्यो’ तुलसीपुर ३ का किसान एकराज राणाले भने ‘तर यो बर्ष अझै पनि रोपाई शुरु भएको छैन् ।’ खोला आसपासका केही स्थानमा किस्ता किस्तामा रोपाई हुने गरेको छ । ‘एक दिन एउटा गराको रोपाई गर्छौ’ तुलसीपुर ३ कै अर्का किसान रामचन्द्र भट्टराईले भने‘अर्को दिन अर्को गराको रोपाई गर्छौैं ।’ यसरी नै चलिरहेको छ, अहिले दाङमा रोपाई ।
अहिले स्थानीय सरकारले जग्गा बाँझो राख्नेलाई कारबाही गर्ने भनी नीति अघि सारेको छ, तर सिंचाई उपलब्ध गराएको छैन् । यसले पनि किसानहरुमा आर्कोष थपेको छ ।‘अहिले उपमहानगरपालिकाले जग्गा बाँझो राख्नेलाई कारबाही गर्ने नीति बनाएको भन्ने सुनिन्छ’ भट्टराईले भने‘ तर उचित सिंचाई बनाउने बारे कुनै चासो दिएको छैन् ।’ नीति बनाउने तर बाँझो खेतमा कसरी सिंचाई पु¥याउने भन्ने कुरामा उपमहानगरले चासो नदिनु किसानहरुको हितमा नहुँने उनीहरुको भनाइ थियो ।
हाईड्याम्प नबनाउदा समस्या उस्तै
समयमा बर्षा नहुँदा यो बर्ष मात्रै होइन्, बिगतका बर्षहरुमा पनि यस्तै समस्या थियो । साउनसम्म पनि रोपाई नहुँनु किसानहरुका लागि दुखद् पक्ष हो । यसले उत्पादनमा गिरावट आउन सक्ने जिल्ला कृषि बिकास कार्यालय दाङका योजना अधिकृत तिलक केसीले बताए । सिंचाईको उचित प्रबन्ध मिलाउन सकियो भने किसानहरु आकासे पानीको भर पर्नुपर्ने बाध्यता नरहने उनको भनाइ छ । त्यसका लागि हाईड्याम्प बनाउने अनी बर्षादेको पानी संकलन गर्ने र सिंचाईका लागि प्रयोग गर्ने । यसो गर्न सकिएमा दाङमा सिंचाईको समस्या समाधान हुने उनको भनाइ छ ।
श्रमिक पाउन थाल्यो
खोलाका किनारका खेतहरुमा रोपाई चलिरहेको छ । तर रोपाईका लागि श्रमिक पाउन मुस्किल छ । जसले गर्दा घरकै परिवार मिलेर रोपाई गरिरहेका छन् । बिगतमा रोपाई गर्न श्रमीक पाउथे, तर पछिल्ला बर्षहरुमा रोपाईका लागि श्रमिक पाउन मुस्किल छ । रोपार्नी त केही मात्रामा पाउन सकिन्छ, तर हलि पाउन झनै मुस्किल रहेको तुलसीपुरको पातुखोलाका किसान राम चन्द्र भट्टराईले बताए । ‘बिगतमा श्रमीकहरु पाउँथ्यो’ उनले भने‘रोपार्नी त पाइन्छ्, तर हली पाउन मुस्किल छ ।’
रोपार्नीलाई चार सय, हलीलाई पाँच सय
दिनभर रोपाई गर्न खटिने हलिलाई पाँच सय पारिश्रमीक दिने गरिएको छ । यो यस बर्षको चलनचल्तीको पारिश्रमकी हो । रोपार्नीलाई भने चार सय दिने गरिएको छ । ‘पोहोरसाल पनि रोपार्नीको चार सय नै थियो’ रोपार्नी तारा रानाले भनिन्‘यस बर्ष नी चार सय मात्रै छ ।’ दिनभर एउटै काम गर्ने पूरुष कामदारलाई पाँच सय दिने गरिन्छ, भने रोपार्नीलाई चारसय मात्रै दिने गरिन्छ । यसमा पनि बिभेद भएको रोपार्नी रानाले दुखेसो पोखिन् ।